नेपालगञ्ज : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बाढीको पानीसँगै बगेर भारत पुगेका ७ जनाको शव भारतीय सुरक्षाकर्मीले फेला पारेका छन् । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्जको गण्डक नदीबाट ४ तथा कुशीनगरको नारायणी नदीबाट ३ वटा शव निकालिएको हो ।
महाराजगञ्जमा फेला परेका ४ शवमध्ये ३ महिला र एक पुरुष रहेको नायब तहसीलदार निचलौल पीयूषकुमार जायसवालले बताएका छन् । उनका अनुसार एक शव नारायणी नदीको बनकेसिया नजिक तथा तीन शव टेलफाल ठोकर नम्बर १ नजिक नदीमा बगिरहेको अवस्थामा एसडीआरएफको टोलीले देखेको थियो । स्टिमरको सहायताले ती शव निकालिएको हो ।
फेला परेका चारै शव नेपाली नागरिकको हुन सक्ने आशंका गरिएको छ । यस्तै, कुशीनगरको नारायणी नदीमा बाढीको पानीसँगै बगेर आएका तीन शव पनि एसडीआरएफको टोलीले फेला पारेको छ । ती शवलाई पहिचान तथा आवश्यक कानुनी प्रक्रियाका लागि ७२ घण्टासम्म मोर्चरीमा राखिएको भारतीय प्रहरीले जनाएको छ ।
यसैबीच, केही शव पनियहवा पुलमुनिबाट बगेर बिहारतर्फ पुगेको हुन सक्ने सम्भावना समेत अधिकारीहरूले बताएका छन् । भारतमा बरामद भएका सातै शवको पहिचान तथा थप कारबाहीका लागि भारतीय प्रशासनले नेपालका सम्बन्धित प्रशासनिक अधिकारीलाई जानकारी गराइरहेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार