Listen LIVE

सुदूरपश्चिममा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

बैतडी : सुदूरपश्चिम प्रदेशमा हरेक तीन घण्टामा दुई जना लागुऔषध ओसारपसार गर्ने युवा पक्राउ पर्ने गरेको तथ्य बाहिर आएको छ । यो सङ्ख्या दैनिक रूपमा १० जनाभन्दा बढी देखिएको छ । पक्राउ पर्नेमा १६ वर्षदेखि ३५ वर्ष उमेरका युवाको सङ्ख्या अत्यधिक रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।  

प्रदेशका नौ जिल्लामध्ये बैतडी, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलाली गरेर पाँच जिल्ला भारतसँग खुला सीमा जोडिएका छन् । खुला सीमाका कारण लागुऔषध मुख्य चुनौती बन्दै गएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार खैरो हेरोइन, चरेस र गाँजाको ओसारपसार बढी हुने गरेको छ । 

यस प्रदेशमा लागुऔषध, आर्थिक अपराध र आत्महत्याका घटना बढी देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले बताए । उनले लागुऔषध मुख्य चुनौती रहेको बताए । उनले औसतमा दैनिक १० जना लागुऔषध ओसारपसार र सेवनकर्ता पक्राउ पर्ने गरेको जानकारी दिए । पक्राउ परेका व्यक्तिबाट दैनिक ८ देखि १० ग्राम लागुऔषध बरामद हुने गरेको छ । 

तथ्याङ्क अनुसार गएको चैत महिनामा मात्रै प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषधसम्बन्धी ६९ वटा मुद्दा दर्ता भएका छन् भने १०७ जना पुरुष र आठ जना महिलामाथि मुद्दा चलाइएको छ । प्रदेशभरि नै लागुऔषध मुख्य चुनौती बनेपछि प्रहरीले सबै जिल्लामा लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरेको छ । जसमा अवैध गाँजा खेती नष्ट, सर्वसाधारणसँग भेटघाट, विद्यालय र क्याम्पसका विद्यार्थीसँग सचेतनामूलक कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया