Listen LIVE

कोदोखेती गर्ने कृषकलाई गाउँपालिकाले चार लाख दिने

बैतडी : शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्धन गर्न किसानलाई चार लाख रुपैयाँ रकम सहयोग गर्ने भएको छ । गाउँपालिकामा पछिल्लो समय कोदोखेती घट्न थालेपछि किसानलाई अनुदान दिएर कोदोखेती प्रवर्धन गर्न लागिएको हो । 

कोदोखतीका लागि प्रदेश सरकारबाट गाउँपालिकालाई चार लाख रुपियाँ बजेट प्राप्त भएपछि सूचना जारी गरेर किसानबाट आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । उनले कोदोखेती गर्ने किसानले प्रति रोपनी सात सय रुपियाँका दरले अनुदान पाउने जानकारी दिए । 

उनले भने,“ प्रति रोपनी सात सय रुपियाँका दरले अनुदान वितरण गर्दा कम्तीमा पनि साढे पाँचसय रोपनी जग्गामा कोदो खेती हुने अपेक्षा गरेका छौं ।” गाउँपालिकाले यस अघि गर्भवति महिलालाई कोसेलीका रूपमा कोदोको पिठो दिने निर्णय गरेको थियो । कोदो लगाउने चलन हराउँदै जान थालेपछि किसानलाई उत्पे्ररणा दिन कोदोमा अनुदान कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए । उनले पालिकाभित्रका विद्यालयमा दिवा खाजाका रूपमा विद्यार्थीलाई कोदोको परिकार बनाएर खाजाका रूपमा खुवाउने निर्णय भएको बताए । 

अध्यक्ष साउदले भने, “विद्यालयमा पत्रुखाना (जङ्कफुड) निशेष गर्ने गरी गाउँमै फलेको कोदो, गेडागुडी र स्थानीय अन्नलाई प्राथमिकता दिने गरी विद्यालयमा दिवा खाजाको व्यवस्था गर्न लागेका छौं । उत्पादन भएको कोदो गाउँपालिकामै खपत गरेर बचेको कोदो बिक्री गरेर आम्दानी गर्न सकिन्छ ।”

बैतडीका ग्रामीण क्षेत्रमा एक दशक अघिसम्म कोदोको रोटी र हलुवा खाने चलन थियो । आधुनिकतासँगै गाउँमा विभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा समेत परिवर्तन आएको छ । 

गाउँमा फल्ने कोदोको विशेषताका बारेमा किसानलाई जानकरी गराएर कोदोको बिस्कुट, केक, सेलरोटी जस्ता परिकारका बारेमा पनि कृषि शाखाबाट जानकारी गराइने प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

बैतडीका किसान पछिल्लो समय बाँदरबाट पीडित भएकाले कोदोखेती उपयुक्त रहेको उनले बताए । बाँदरले कोदो नखाने भएकोले किसानलाई फाइदा हुने बताइएको छ ।

प्रतिक्रिया