Listen LIVE

पाल्पामा उत्पादित सिमी र अदुवा युरोप निर्यातको तयारी

पाल्पा : जिल्लामा उत्पादित सिमी र काँचो अदुवा युरोप निर्यातको तयारी भएको छ । चार वर्षदेखि प्रशोधित अदुवा निर्यात गर्दै आएको पाल्पाको निस्दीस्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्षदेखि सिमी र काँचो अदुवासमेत निर्यात गर्न लागेको हो । 

अकिस्टा नेपालसँगको साझेदारीमा निस्दी–५, गल्धामा उत्पादन भएको २० टन सेतो सिमी र २० टन काँचो अदुवा अर्गानिक प्रमाणित गरेर जर्मनी पठाउने तयारी भइरहेको सहकारीका अध्यक्ष अममाया मश्राङ्गीले बताइन् । उत्पादन भएको कृषिउपजको बजारीकरण सुनिश्चितता भएपछि कृषक उत्साहित भएको उनले बताइन् । 

विदेशबाट आएको माग पूरा गर्नका लागि सदस्यले उत्पादन गरेको २५ हजार ८१ केजी सेतो र तीन हजार ५९ केजी कालो तथा खैरो गरी २८ हजार १४० केजीभन्दा बढी सिमी सहकारीले खरिद गरेको व्यवस्थापक दिलमाया सारूले जानकारी दिइन् । सेतो सिमी प्रतिकिलो १६५ रुपैयाँ र मिसावट भएको सिमी १४० का दरले ४५ लाख ६४ हजार २६ रुपैयाँ बराबरको सिमी खरिद गरी छान्ने कार्य भइरहेको उनले जानकारी दिइन् । 

सङ्कलन भएकोमध्ये २० हजार केजी जर्मनी पठाउन दैनिक १४ जना परिचालन गरी सिमीको ग्रेडिङ गर्ने कार्य भइरहेको छ । साथै माग अनुसार जुसका लागि काँचो अदुवा पठाउन खन्ने र सफा गर्ने काम भइरहेको संस्थाले जनाएको छ । 

प्याकेजिङ गरेर जनवरीको पहिलो हप्ताभित्र काँचो अदुवा र अन्तिममा सेतो सिमी पठाउने गरी तयारी भइरहेको अकिस्टा नेपालका कृषि प्राविधिक श्रवणकुमार श्रेष्ठले बताए । अदुवाको आर्गानिक प्रमाणित भइसकेको र सिमीको प्रमाणित अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

यसवर्ष सहकारीले काँचो अदुवाको माग पूरा गर्न हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोग, ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पाको समन्वय र अकिस्टा नेपालको प्राविधिक सहयोगमा ४२ रोपनीमा अदुवा लगाएको थियो ।

सिन्धुली, रामेछापलगायतका स्थानबाट जुसका लागि उपयुक्त प्रजातिको अदुवा सहकारीले जग्गा लिजमा लिएर र सहकारीको समूहमार्फत लगाएको अदुवा खन्ने र सफा गर्ने कार्य भइरहेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया