बर्दिया : बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइ आयोजनाले आर्थिक वर्ष २०८१–०८२ मा लक्ष्यको ९९.८४ प्रतिशत प्रगति गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उत्कृष्ट आयोजना भएको छ ।
आयोजनाले सुरुदेखि हालसम्म ८२ प्रतिशत काम सम्पन्न गरेको छ । बबई सिँचाइ आयोजनाले गत आव २०८१–०८२ मा ३.६० किलोमिटर मूल नहर निर्माण गरेको छ । २० किलोमिटर शाखा नहर निर्माण गरेको छ । यस अवधिमा एक हजार ३३० हेक्टर सिञ्चित जग्गा थप भएको छ ।
नहर निर्माणका लागि २४.२९ हेक्टर जग्गा अधिग्रहण गरेको छ । आयोजनाले सिञ्चित क्षेत्र सुरक्षाका लागि ३.३५ किलोमिटर तटबन्ध निर्माण गरेको छ । निर्देशक सुशीलचन्द्र देवकोटाले आयोजनाले गत आर्थिक वर्षमा भौतिकतर्फ ९९.८४ र वित्तीयतर्फ ९९.७० प्रतिशत प्रगति गरी मन्त्रालयमै उत्कृष्ट आयोजना हुन सफल भएको बताए ।
आव २०८२–०८३ सम्म निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित गुरुयोजना लागु गरेको आयोजनामा कार्यअवधि एक वर्ष बाँकी छँदा अझै पनि आयोजनाको १८ प्रतिशत काम हुन बाँकी देखिएको छ । करिब १८ अर्ब ९६ करोडको लागतमा २०८२–०८३ मा आयोजना सम्पन्न हुने गरी २०७८ सालमा गुरुयोजना स्वीकृत गरिएको थियो ।
गुरुयोजना अनुसार पर्याप्त बजेट उपलब्ध नहुँदा बबई सिँचाइ आयोजनाको काम लम्बिँदै गएको छ भने लागत समेत बढ्दै गएको छ । २०७८–०७९ मा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएको बबई सिँचाइ आयोजनामा तुलनात्मक रूपमा बजेट विनियोजन बढे पनि गुरुयोजना अनुसार बजेट अभाव हुँदै आएको छ ।
आयोजनाको ९१ किलोमिटर मूल नहर र ३१३ किलोमिटर शाखा तथा उपशाखा नहर निर्माण गर्ने योजना छ । जसमध्ये पूर्वतर्फको ३४ किलोमिटर मूल नहर निर्माण भइसकेको छ भने शाखा प्रशाखा नहर निर्माणाधीन रहेका छन् । त्यसैगरी पश्चिमतर्फको करिब ४१ किलोमिटर मूल नहरमध्ये २८ किलोमिटर निर्माण भएको छ भने बाँकी दुई वटा प्याकेज बनाएर ठेक्का भई निर्माण भइरहेको छ ।
हाल गुलरिया नगरपालिका खण्डमा मूल नहर निर्माणको काम भइरहेको छ । ३२ किलोमिटर तटबन्ध निर्माण गर्नुपर्नेमा ३० किलोमिटर निर्माण भइसकेको छ भने हालसम्म ३९३ हेक्टर जग्गा व्यक्ति, वन र सरकारी जग्गा सिँचाइको स्वामित्वमा ल्याइसकेको छ । आयोजनामा हालसम्म १५ अर्ब ४७ करोड रकम खर्च भइसकेको छ ।
बबई सिँचाइ आयोजनाका निर्देशक देवकोटाले गत वर्ष एक अर्ब ७० करोड बजेट विनियोजन भएको बताए । गुरुयोजना अनुसार काम हुन नसक्दा गुरुयोजनाको म्याद थप्ने तयारी भइरहेको छ । गुरुयोजना संशोधन गरी म्याद थप गर्दा १८ अर्ब ९६ करोड लागतबाट २२ अर्ब पुग्ने अनुमान गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार