Listen LIVE

एक वर्षमा २६ हजार पर्यटकले गरे बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन

बर्दिया : गत आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी २६ हजार १ सय ३१ जना पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । उक्त वर्ष पर्यटकबाट २ करोड ८४ लाख ४ हजार रुपैयाँ राजस्व उठाएको निकुञ्जले जनाएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै आन्तरिक र विदेशी गरी २ सय ९४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेको निकुञ्ज मुख्यालय, ठाकुरद्धाराले जनाएको छ । साउनमा आन्तरिक २ सय २ जना पुरुष र ४६ महिला आएका छन् । सार्क मुलुकबाट १० जना पर्यटक भित्रिएका थिए । विदेशी पर्यटकमा २५ जना पुरुष र ११ जना महिला गरि ३६ जनाले निकुञ्जको अवलोकन गरेका हुन् ।

यस वर्ष वर्षायाममा समेत अवलोकनका लागि निकुञ्ज खुला गरिएको छ । सुरक्षाका सबै प्रक्रिया मिलाई जिप सफारी र पैदल अवलोकनका लागि निकुञ्ज अवलोकन सञ्चालनमा आएको हो । साउन महिनामा मात्रै २९ हजार रुपैयाँ बढी राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।

आर्थिक मन्दीले थलो परेको बर्दिया राष्ट्रिय निकुञ्जका बर्दियाका पर्यटन व्यवसायीलाई भने पर्यटक आगमनले आशा पलाएको छ । पर्यटन व्यवसायी रामजी थापाले कोरानाकालमा थलो परेको पर्यटकको उत्साह जनक वृद्धिले आशा पलाएको व्यवसायीहरुले बताएका छन् ।

बर्दिया निकुञ्जमा आउने अधिकांश पर्यटकको इच्छा बाघ हेर्ने भएकोले पनि पर्यटक आउने गरेको थापाले सुनाए । बर्दिया निकुञ्जमा १ सय २५ बाघ छन् । निकुञ्जका अनुसार १ सय २० हात्ती र ३८ वटा गैँडा छन् । (कान्तिपुरबाट)

प्रतिक्रिया