Listen LIVE

स्थानीय मानव बेचबिखन र बाल अधिकार समितिको समीक्षा सम्पन्न

नेपालगञ्ज : बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्थानीय मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा कार्यशाला राजापुर नगरपालिकामा सम्पन्न भएको छ । 

क्बलले संचालन गरेको सुरक्षा परियोजनाअन्तर्गत आयोजना गरिएको सो कार्यशालाको अध्यक्षता राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले गर्नुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी  होम प्रसाद चौधरी, स्थानीय मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिका पदाधिकारी एवं सदस्यहरू, शिक्षा, महिला तथा बालबालिका, स्वास्थ्य शाखाका प्रमुखहरू, राधा कृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालाको मुख्य उद्देश्य मानव बेचबिखन, लागूऔषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणकालागि हालसम्म भएका प्रयासहरूको समीक्षा गर्दै आगामी वर्षका लागि समन्वयात्मक, समुदायमुखी तथा प्रभावकारी कार्ययोजना तयार गर्नु रहेको थियो ।

कार्यशालाको समापन समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बुढाले बालबालिका, महिला तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित, समावेशी र संरक्षणमूलक वातावरण निर्माण गर्न सबै पक्षको साझा जिम्मेवारी, प्रभावकारी समन्वय तथा निरन्तर प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे । 

साथै, कार्ययोजनालाई व्यवहारमा उतारेर समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे । 

समितिले हालसम्म गरेका मुख्य उपलब्धि तथा बार्षिक प्रगति प्रतिबेदन महिला बालबालिका शाखा प्रमुख अनिता चौधरीले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले गरेका थिए । सहजीकरणमा फिल्ड सुपरभाइजर प्रमिसा थारुको सहयोग रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले 'साझेदारी, प्रतिबद्धता र सामूहिक प्रयास मार्फत मात्र हामी मानव बेचबिखन, लागूऔषध दुव्र्यसन र बालविवाहमुक्त सुरक्षित समाज निर्माण गर्न सक्छौं । आउनुहोस्, सबैका लागि सुरक्षित र उज्ज्वल भविष्य सुनिश्चित गर्न हातेमालो गरौं ।' भन्ने साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया