काठमाण्डौ : नेपाली चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ। शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ। गीतमा आनन्द अधिकारीको मन छुने शब्द, दिपक शर्माको सशक्त सङ्गीत, र शाहिमा श्रेष्ठको स्वर रहेको छ।
गीतको भिडियोमा दुई आकर्षक स्थानहरू र दुई ऊर्जावान नृत्यांगनाहरू, आश्मा विश्वकर्मा र चाहना पुनको आकर्षक नृत्य प्रस्तुति देख्न सकिन्छ। उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ, जसले भिडियोलाई थप रहस्यमयी बनाएको छ। यसका साथै, भिडियोमा अभिनेता सुनील पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ, जसले चलचित्रको कथाको गम्भीरतालाई दर्शाइरहेको छ।
आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो चलचित्र अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरी बनेको निर्देशक यादव कुमार भट्टराईले बताए। यसमा मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी, र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको उनले जनाए।
सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै आएका निर्देशक भट्टराईले यसअघि सुपर हिट चलचित्र ’झोला’ र अर्को चलचित्र ’भोर’ निर्देशन गरेका थिए। ’झिल्को’मा आयुषी ढकाल, सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ। चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्।
’झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने मिडिया फर कल्चर प्रा.लि. को प्रस्तुति र जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार