Listen LIVE

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान सञ्चालन

बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले नेपाल–भारत सीमा क्षेत्रको ८३ किलोमिटर सीमाक्षेत्रमा लागुऔषध नियन्त्रणका लागि फिरिया, एन्जल र ब्युटी (तीन वटा कुकुर) को प्रयोग गरेर सीमाक्षेत्रमा निगरानी गर्न सुरु गरेको छ । नेपालबाट भारतीय सीमावर्ती बजारमा जाने र भारतबाट फर्किंदा लागुऔषध लिएर फर्किनेको सङ्ख्या बढ्दै जाँदा प्रहरीले कुकुरको प्रयोग गरी सीमाक्षेत्रमा यात्रु र सवारीसाधनको परीक्षण गर्न सुरु गरेको हो ।

बर्दिया जिल्लामा प्रत्येक दिन जसो लागुऔषध ओसारपसारमा युवा पक्राउ पर्न थालेपछि प्रहरीले लागुऔषध प्रयोगकर्ता र विक्रेता दुवैलाई लक्षित गरेर निगरानी बढाएको देखिन्छ । आर्थिक वर्ष २०७८–७९ मा चार जना भारतीय नागरिकसहित ५० जना पक्राउ पर्दा आव २०७९–८० मा भने त्यो सङ्ख्या बढेर एक जना भारतीय नागरिकसहित ८८ जना पक्राउ पर्दा आव २०८०–८१ मा तीन जना भारतीय नागरिकसहित २०२ जना पक्राउ परेका थिए । यस आवमा पनि तीन जना भारतीय नागरिकसहित १९५ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले १२५ जनालाई मुद्दा दायर गरिएको बताए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले नेपाल–भारत सीमाक्षेत्रको बर्दिया जिल्लाको बलैगाउँ, लौकाही, गुलरिया, तिकुनिया र राजापुरका सीमावर्ती क्षेत्रमा डग हेन्डलरमार्फत लागुऔषध ओसारपसार र विस्फोटजन्य पदार्थको निगरानी गर्न सुरु गरिएको बताए ।

लागुऔषध ओसारपसारमा धेरै जसो युवा पक्राउ पर्ने गरेका छन् । कामको सिलसिलामा नेपाल–भारत सीमाक्षेत्रका भारतीय बजार जाने र उतैबाट लागुऔषध प्रयोग र खरिद गरेर फर्किनेको सङ्ख्यासमेत अत्यधिक देखिन्छ । 

गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले नेपाल–भारत सीमाक्षेत्रको ८३ किलोमिटर सीमाक्षेत्र भारततर्फ कर्तनिया वन्यजन्तु आरक्ष भएकाले पनि लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने पनि बढ्दै जान थालेको बताए । 

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले केही समययतादेखि जिल्ला प्रशासन कार्यालयले छिमेकी जिल्ला बाँकेबाट लागुऔषध कारोबारी बर्दियातर्फ सरेका हो कि भन्ने आशङ्कासमेत उब्जिएको बताए । 

लागुऔषध नियन्त्रण गर्न बर्दिया जिल्लाका आठ स्थानीय तहले प्रशासन र प्रहरीसँग सहकार्य गर्दा पनि यसको नियन्त्रण हुन नसकेपछि नेपाल प्रहरीले फिरिया, एन्जल र ब्युटी नाम गरेका तीन वटा कुकुरको प्रयोग गरेर सीमाक्षेत्रमा निगरानी बढाएको छ ।

प्रतिक्रिया