Listen LIVE

खजुरामा सामाजिक परीक्षण सम्पन्न

नेपालगञ्ज : ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी -रेष्ट) ले बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन गर्दै आएको बालिका शिक्षा तथा संरक्षणसम्बन्धी कार्यक्रमको सामाजिक परीक्षण सम्पन्न गरेको छ । 

खजुरा गाउँपालिकामा आयोजित सामाजिक परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा रेष्टकी केन्द्रीय उपाध्यक्ष शारदा ज्ञवालीको अध्यक्षता रहेको थियो । 

प्रमुख अतिथिका रूपमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले रेष्टले बालिका शिक्षामा पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । उनले संस्थाले आफ्नो सेवाको दायरा अझ विस्तार गर्न सके धेरै बालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर पाउने उल्लेख गरे ।

रेष्टले खजुरा गाउँपालिका–३ र ७ का पाँच सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले २०६३ सालदेखि बालिका तथा किशोरीहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्नुका साथै बालविवाह, बालश्रम, असुरक्षित बसाइँसराइ तथा मानव बेचबिखन न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । 

कार्यक्रममा ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या थारुले रेष्टको सहयोगले आफ्नो जीवनमा ठूलो अवसर प्राप्त भएको बताइन् । उनले आफू जस्तै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई पनि यस्ता अवसर उपलब्ध गराउन आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

सामाजिक परीक्षणको सहजीकरण गर्दै जीवनाथ पराजुलीले रेष्टका कार्यक्रम सञ्चालनपछि समुदायमा बालिकाहरूको आत्मविश्वास वृद्धि भएको, आफ्ना धारणा खुलेर राख्न सक्ने क्षमता विकास भएको तथा माध्यमिक र उच्च शिक्षासम्म अध्ययन निरन्तरता दिने छात्राको संख्या बढेको जानकारी दिए । उनका अनुसार विद्यालय छाड्ने दरमा कमी आउनुका साथै शिक्षामा समान पहुँच सुनिश्चित गर्न पनि कार्यक्रम प्रभावकारी बनेको छ ।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले बालिका शिक्षाको क्षेत्रमा रेष्टले गरेको कार्य प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमलाई दीर्घकालसम्म निरन्तरता दिन सहयोगी संस्थाहरूले सहकार्य गर्नुपर्नेमा जोड दिइन् । वडा नम्बर ३ की सदस्य तथा कार्यवाहक अध्यक्ष देउमाया थापाले खजुराका अन्य विद्यालयमा समेत यस्ता कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताइन् । 

ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले समस्याग्रस्त तथा विपन्न परिवारका बालबालिकालाई शिक्षाको अवसर उपलब्ध गराउन रेष्टले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

रेष्टका अनुसार हाल बाँके जिल्लाका २३ सामुदायिक विद्यालयमा अध्ययनरत ३१६ छात्रालाई शैक्षिक सहयोग प्रदान गरिँदै आएको छ । त्यसैगरी, खजुरा गाउँपालिका–३ र ७ का पाँच विद्यालयमा एसजिटी -क्न्त्) र अमर परियोजना मार्फत कक्षा १ देखि १२ सम्म अध्ययनरत १०५ छात्राले प्रत्यक्ष शैक्षिक सहयोग प्राप्त गरिरहेका छन् । कार्यक्रममा रेष्टकी पूर्व छात्रा सुस्मिता क्षेत्रीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण रेष्टका गणेशप्रसाद भट्टराईले गरेका थिए ।

प्रतिक्रिया