नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा आबद्ध कृषकहरूलाई ६० प्रतिशत लागत साझेदारी अनुदानमा करिब २८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले १६ वटा आइपिएम कृषक पाठशालालाई कृषि सामग्री हस्तान्तरण गरेका हुन् । गाउँपालिकाले ६० प्रतिशत र कृषकले ४० प्रतिशत लागत साझेदारी गर्ने गरी आवश्यक कृषि सामग्री उपलब्ध गराइएको जनाएको छ ।
सामग्री हस्तान्तरण गर्दै अध्यक्ष विकले खजुरालाई अर्गानिक कृषि उत्पादनको नमुना क्षेत्रका रूपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताए । उनले कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणलाई प्राथमिकतामा राख्दै बजारसम्म सहज पहुँच सुनिश्चित गर्न कृषि एम्बुलेन्स सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कृषि शाखा प्रमुख भगवती खड्का घर्ती मगरका अनुसार गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको हो । उनका अनुसार खजुरामा सञ्चालन भएका ६ वटा पुराना र ६ वटा नयाँ आइपिएम कृषक पाठशालामा चार महिने तालिम सञ्चालन गरिएको थियो । तालिम सम्पन्न गरेका कृषकलाई उत्पादन वृद्धि तथा व्यवसायिक खेती विस्तारका लागि कृषि सामग्री उपलब्ध गराइएको उनले जानकारी दिइन् ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले तालिमबाट सिकेका प्रविधिलाई व्यवहारमा लागू गर्न तथा कृषकलाई थप उत्पादनशील बनाउन कृषि सामग्री वितरण गरिएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले उपलब्ध गराइएका कृषि सामग्रीको प्रभावकारी सदुपयोग गर्न कृषकहरूलाई आग्रह गरिन् । उनले कृषि उत्पादन वृद्धि, अर्गानिक खेती प्रवद्र्धन तथा उत्पादित वस्तुको बजारीकरणका लागि गाउँपालिकाले कृषकसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कृषि शाखाका अनुसार आइपिएम -एकीकृत शत्रुजीव व्यवस्थापन) खेतीपातीमा रासायनिक विषादीको प्रयोगलाई शून्य वा न्यूनतम स्तरमा सीमित गर्दै वातावरणमैत्री र वैज्ञानिक ढंगले बाली संरक्षण गर्ने पद्धति हो । यसले माटोको उर्वराशक्ति संरक्षण गर्नुका साथै उपभोक्तालाई सुरक्षित तथा स्वास्थ्यकर खाद्यान्न उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने शाखाको भनाइ छ ।
गाउँपालिकाले खजुरालाई अर्गानिक कृषि उत्पादनको केन्द्र -अर्गानिक हब) बनाउने लक्ष्यसहित आइपिएम प्रविधिलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्दै आएको जनाएको छ । अध्यक्ष विकका अनुसार विषादीरहित प्राङ्गारिक खेतीको विस्तारले माटोको गुणस्तर सुधार्नुका साथै उपभोक्तालाई विषादीयुक्त खाद्यान्नबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।
उनले अर्गानिक कृषि उत्पादनको बजारमा उच्च माग र राम्रो मूल्य रहेकाले यसबाट खजुराका कृषकको आम्दानी वृद्धि भई आर्थिक जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार