नेपालगञ्ज : नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपईडिहास्थित इन्टिग्रेटेड चेक पोस्ट (आइसिपी)मा दुबै देशका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा भारतको सशस्त्र सीमा बल (एसएसबी) ४२ औँ वाहिनी, नेपालको सशस्त्र प्रहरी (एपिएफ) तथा भारतको पूर्वोत्तर रेलवेका वरिष्ठ अधिकारीको सहभागिता थियो ।
बैठकमा सीमा व्यवस्थापन, यात्रु आवागमनमा सहजता, रेल सेवा सञ्चालन तथा सुरक्षा संयन्त्रबिचको सहकार्यका विषयमा विस्तृत छलफल गरिएको सशस्त्र प्रहरी लुम्बिनी प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरले जानकारी दिए ।
एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेयले बैठकको मुख्य उद्देश्य भारत र नेपालबिचको समन्वयलाई अझ सुदृढ बनाउँदै सीमा क्षेत्रमा सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको बताए ।
सो बैठकमा एसएसबीका डिआइजी वी. विक्रमन र मुन्ना सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक कुँवर लगायत दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीको उपस्थित थियो ।
त्यसैगरी भारतीय रेलवेका सिनियर डिभिजनल अप्रेशन म्यानेजर अनुजकुमार सिंह तथा यातायात विभागका अधिकारीको सहभागिता थियो । बैठकपश्चात् सहभागी दुबै देशका अधिकारीले रुपईडिहास्थित नवनिर्मित नेपालगञ्ज रोड रेलबे स्टेशनको स्थलगत निरीक्षण गर्दै त्यहाँको पूर्वाधार, सुरक्षा व्यवस्था तथा सञ्चालन तयारीबारे जानकारी लिएका थिए ।
निरीक्षणका क्रममा नेपाल–भारत रेल कनेक्टिभिटी, नेपालसम्म भारतीय रेलको पहुँच तथा विभिन्न पूर्वाधार परियोजनाबारे समेत विस्तृत जानकारी आदानप्रदान गरिएको थियो ।
भारतीय रेलवेका सिनियर डिभिजनल अपरेसन म्यानेजर सिंहले यही महिनाको अन्त्यसम्म नेपालगञ्ज रोडबाट रेल सेवा सञ्चालन हुने अपेक्षा गरिएको जानकारी दिँदै सेवा शुरु भएपछि समय तालिका वा व्यवस्थापनमा देखिने समस्यालाई आवश्यकताअनुसार सुधार गरिने बताए ।
कार्यक्रममा एसएसबी ४२औँ वाहिनीका डिप्टी कमान्डेन्ट शशि भूषण, सहायक कमान्डेन्ट अमित कटियार, सुनील कुमार, शान्ति लगायत सुरक्षा अधिकारीहरू तथा नानपारा रेलवे पुलिस फोर्सका प्रभारी उपनिरीक्षक धनवन्त सिंहसहित अन्य कर्मचारीको उपस्थिति थियो ।
कार्यक्रमका क्रममा दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा, आपसी सहकार्य र 'इको फ्रेन्डली' पहललाई प्रवर्धन गर्दै द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेयलाई उद्धृत गर्दै रुपईडिहाबाट हाम्रा सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार