Listen LIVE

बाजुरामा धान रोपाइँ सुरु

बाजुरा : बाजुराका अधिकांश किसानले जेठको पहिलो सातादेखि धान रोपाइँ सुरु गरेका छन् । खोला किनार तथा सिँचाइको सुविधा भएका ठाउँमा किसानले जेठको पहिलो सातादेखि रोपाइँ सुरु गरेका हुन् ।

बाजुरामा जेठ १५ देखि रोपाइँ सुरु हुने गरेको भए पनि यती बेला यहाँका अधिकांश किसानले जेठको पहिलो सातादेखि नै रोपाइँ सुरु गर्न थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । 

चैतको अन्तिमा बेर्ना हाल्ने र वैशाखमा गहुँ काट्ने गरेको बुढीगंडा नगरपालिका १० का दलबहादुर लुहारले बताए । यसपछि जेठको पहिलो हप्तादेखि रोपाइँ सुरु गर्ने गरेको उनको भनाइ छ ।

उनले भने, “यहाँ प्रायः पानीको पालोमा रोपाइँ गर्नुपर्ने हुन्छ । जेठको पहिलो हप्तादेखि नै पानीको पालो पर्ने भएकाले यहाँ अधिकांश किसानले रोपाइँ सुरु गर्ने गरेका छन् ।”

जेठको पहिलो सातादेखि रोपाइँ सुरु गरेर असारको २८ सम्म रोपाइँ सक्नुपर्ने भएकाले यती बेला सोही समयमा रोपाइँ सुरु गरको लुहारले बताए ।

बाजुरामा पाखो जमिनमा चैत र वैशाखमा धान छर्ने गर्दछ भने असारको धान रोपाइँ भने जेठको पहिलो सातादेखि सुरु हुन्छ । यहाँ प्रायः सिँचाइ सुविधा कम हुने भएकाले आकाशे पानीको भरमा खेती गर्ने गर्दछन् ।

बर्खाको खेतीका लागि पानी परेपछि पानीका महान फुट्ने र त्यसैको साहारामा खेती गर्नुपर्ने हुन्छ भने हिउँदमा हिमपात नभएसम्म खेती राम्रो उत्पादन हुँदैन ।

बाजुरामा दुई लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेती योग्य जमिन छ । त्यसमध्ये पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुन्छ । त्यसमा ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताए ।

प्रतिक्रिया