नेपालगञ्ज : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष बाँके जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले विगत ३ वर्षदेखि बाँकेमा धान जोन परियोजना लागू गरी धान खेती प्रवर्धनमा सहयोग गर्दै आएको छ । सो परियोजनाअन्तर्गत यस वर्ष १ लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले जानकारी दिए ।
परियोजना अन्तर्गत जानकी गाउँपालिकाको वडा नं १, २, ३, ४, खजुरा गाउँपालिकाको २ र ४, बैजनाथ गाउँपालिकाको २, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागू गरिएको यादवले बताउनु भयो । जसअन्तर्गत २ हजार ३ सय ४१ हेक्टर क्षेत्रफलमा धान खेतीमा प्रवर्धन गर्ने कार्यक्रम लागू गरिएको यादवको भनाई थियो ।
परियोजनाका कृषि अधिकृत यादवका अनुसार परियोजनाले समेटेको कार्य क्षेत्र अन्तर्गत ८१४ जना कृषक तथा समूह र सहकारी यो योजनामा जोडिएका छन् । ती किसानहरूका लागि यो चालु आर्थिक वर्षमा साना सिँचाइ, धानको चक्लाबन्दी, कष्टम हायरिङ सेन्टर स्थापना, धानको बीज वृद्धि, कृषि यान्त्रीकरणमा सहयोग, पोस्ट हार्वेस्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण तथा मेसिनरी सहयोग, व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रम, तरकारी क्षेत्र विस्तार लगायतका कार्यक्रम रहेको यादवको भनाई थियो ।
बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडामा परियोजनाले धान खेतीका लागि सिँचाइ, कृषि यान्त्रीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको परियोजनाका सूचना अधिकारी ध्रुवराज जोशीले बताए ।
बाँकेमा परियोजना अन्तर्गत चालु आर्थिक वर्ष २०८१–८२ बाट तरकारी जोनको कार्यक्रम पनि सञ्चालन गरिँदै छ । जसअन्तर्गत करिब ५०० हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले जानकारी दिए । चालु आर्थिक वर्षमा १ करोड २९ लाख धान खेती र ५० लाख तरकारी खेती प्रवर्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार