काठमाण्डौ : नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान रचेको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग–२ मा नेपालले सोमबार स्कटल्यान्डलाई ६ विकेटले हरायो । जितसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ ।
यसअघि नेपाल सातौँ स्थानमा थियो । पराजित स्कटल्यान्ड ३१ खेलबाट ३८ अङ्क जोड्दै शीर्षस्थानमा छ । यस सिरिजको अर्को टोली अमेरिका २६ खेलबाट ३६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालले यस सिरिजको अन्तिम खेल अब ८ गते अमेरिकासँग खेल्ने छ ।
जितका लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्नुभयो । रोहितले अविजित ७४ रन बनाए । उनले ९८ बलमा पाँच चौका र दुई छक्का हाने । रोहितको यो खेल जीवनको १२औँ अर्धशतक हो ।
यस्तै इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५५ रन बनाए । ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन बनाए ।
आरिफ शेखले अविजित आठ र दीपेन्द्रसिंह ऐरी दुई रनमा आउट भए । बलिङमा स्कटल्यानडका मार्क वाटले दुई तथा ब्रान्डन म्याकमुलेनले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ चौका र ६ नै छक्का हाने । माइकल इङग्लिसले ५१, जर्स मुन्सीले २१ र मार्क वाटले २० रन बनाए ।
बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिए । सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।
ललित राजवंशी प्लेयर अफ दि म्याच भए । यस खेलमा तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् ।
नेपाली टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका हुन् । उनले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।
मिचेलले यसअघि सन २०१९ मा ७७ खेलमा एक सय विकेटको कीर्तिमान बनाएका थिए । सन्दीपले ७३ खेलमा एक सय ५० विकेट लिँदै स्टार्सको कीर्तिमान तोड्न सफल भए । सन्दीपले यसअघि नै एक दिवसीयमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान पनि आफ्नो नाममा राखेका छन् ।
आठ टोली सहभागी विश्वक लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुन नेपाललाई बाँकी सबै नौ खेल जित्नुपर्ने बाध्यता छ । एकदिवसीय मान्यता जोगाउन भने नेपाल शीर्ष ६ मा रहनुपर्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार