Listen LIVE

चिस्यानगृहले कृषकलाई फाइदा

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका–६, फडिल्लाका कृषकले जिल्लामै पहिलो पटक चिस्यानगृहमा सुन्तला भण्डारण गरेका छन् । मौसम अनुसार कृषि उपज उत्पादन गर्ने कृषकले बेमौसममा बिक्री गर्ने गरेर पर्याप्त आम्दानी गर्नका लागि चिस्यानगृहमा सुरक्षित भण्डारण गरेका हुन् । 

चिस्यानगृहमा सुन्तला भण्डारण गरेर केही समयपछि बिक्री गर्दा सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ । फडिल्ला, पिनालेखसहितका क्षेत्रका कृषकले उत्पादन गरेको सुन्तला चिस्यानगृहमा भण्डारण गरेर राखिएको बडीमालिका कृषि शाखाका प्राविधिक रमेश विकले बताए । 

उनले भने, “स्थानीय कृषकले आफ्नै बगैँचाबाट उत्पादन गरेको छ क्विन्टल सुन्तला टिपेर चिस्यानगृहमा राखेका छौँ,” ती सुन्तला फागुन पहिलो हप्तामा बजारमा पठाउने छौँ ।”

अहिले प्रतिकिलो एक सय रुपैयाँ रहेको सुन्तला फागुन–चैत प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने कृषि प्राविधिक विकले जानकारी दिए ।

कृषकले चिस्यानगृहमा राखे अनुसार प्रतिकेजीका दरले दुई रुपैयाँ तिर्नुपर्ने हुन्छ । चिस्यानगृहमा सुन्तला दुई महिना राख्ने अवधि हुन्छ, विकले भने । चिस्यानगृहमा अटाउने क्षमता भने २५ टन रहेको छ ।  

चिस्यानगृहमा सुन्तला भण्डारण गर्न पाएपछि खुसी लागेको बडीमालिका नगरपालिका–६, फडिल्लाका कृषक गगी बडुवालले बताए । 

धेरै समय बोटमा फल राख्दा हावाले क्षति हुने र जङ्गली जनावर बाँदरले खाने समस्या पनि हटेको उनले बताए । चिस्यानगृहमा राखे सुन्तलाको बजार भाउसमेत बढ्ने र पारिश्रमिक अनुसारको उचित मूल्य पाउने उनको विश्वास छ । चिस्यानगृहको भवनमा फलफूल र तरकारीलाई ताजा बनाइराख्ने अनुकूलित हावापानी बनाउन विद्युतबाट चल्ने उपकरण जडान गरिएको छ ।

प्रतिक्रिया