एजेन्सी : अमेरिकाले रूस–युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौताको हिस्साका रूपमा युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने सहमति जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुशनरसँगको छलफलपछि सुरक्षा प्रत्याभूति र डोनबास क्षेत्रको भविष्यबारे मतभेद घटेको अमेरिकी पक्षको दाबी रहेको बीबीसीले जनाएको छ ।
बर्लिनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको पछिल्लो छलफलपछि अमेरिकी अधिकारीहरूले वार्ता उल्लेखनीय रूपमा अघि बढेको बताएका छन् । करिब चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि यसै हप्ता थप वार्ता हुने सम्भावना छ। वार्ताका क्रममा ट्रम्प स्वयं युरोपेली नेताहरू र वार्ताकारहरूसँग फोनमार्फत जोडिएका थिए।
ट्रम्पले शान्ति सम्झौतामा अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको दाबी गर्दै युरोपेली नेताहरूको बलियो समर्थन रहेको बताए। सम्झौतामा अमेरिकाको समर्थनमा युरोपको नेतृत्वमा बहुराष्ट्रिय बल गठन गर्ने, युक्रेनभित्रै सुरक्षा सञ्चालन गर्ने, युक्रेनी सेनाको पुनर्निर्माण, आकाशीय सुरक्षा र समुद्री सुरक्षामा सहयोग गर्ने योजना समेटिएको छ। युक्रेनी सेनालाई शान्तिकालीन अवस्थामा करिब आठ लाख सैनिकको स्तरमा राख्ने प्रस्ताव पनि गरिएको छ।
वार्तामा नाटोको सामूहिक सुरक्षा सिद्धान्त ‘आर्टिकल ५’ जस्तै सुरक्षा संयन्त्रबारे विस्तृत छलफल भएको बताइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार