नेपालगञ्ज : बाँके जिल्लाबाट यस वर्ष पवित्र हज यात्राका लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने १२१ जना हज यात्रीलाई भव्य बिदाइ तथा सम्मान गरिएको छ । नेपालगञ्जस्थित बिपी चोकमा आयोजित कार्यक्रममा हज यात्रामा जाने तीर्थयात्रीहरूलाई गम्छा, टोपी र खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा राजनीतिक दलका नेता, जनप्रतिनिधि, धार्मिक अगुवा तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । दारुल उलुम फेजुन्नबी जामा मस्जिद ईदगाह सञ्चालक समितिका पूर्व अध्यक्ष हाजी अब्दुल रहमान मियाँले बाँकेबाट यस वर्ष १२१ जना हज यात्रामा सहभागी हुन लागेको जानकारी दिए । उनका अनुसार हज यात्रामा जानेहरूलाई शुभकामना र सम्मानसहित बिदाइ गरिएको हो ।
कार्यक्रममा सामाजिक अभियन्ता जुबेर राइ लगायतले हज यात्रुहरूलाई सम्मान व्यक्त गर्दै सफल धार्मिक यात्राको शुभकामना दिए । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह र जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले हज यात्रुले समाजमा एकता, सद्भाव र इमान्दारिताको सन्देश फैलाउने विश्वास व्यक्त गर्दै सफल यात्राको कामना गरे ।
उनीहरूले हजले आत्मशुद्धि, अनुशासन र मानवताप्रतिको समर्पण सिकाउने उल्लेख गरे । पछिल्लो समय हज यात्रा अत्यधिक महँगो बन्दै गएको उल्लेख गर्दै सरकारले खर्च घटाउनेतर्फ विशेष पहल गर्नुपर्ने मागसमेत गरेका थिए । इस्लाम धर्मको पाँच स्तम्भमध्ये एक मानिने हज प्रत्येक शारीरिक तथा आर्थिकरूपमा सक्षम मुसलमानले जीवनमा कम्तीमा एकपटक गर्नुपर्ने धार्मिक कर्तव्य मानिन्छ ।
हजका क्रममा तीर्थयात्रीहरूले पवित्र काबाको तवाफ, सफा–मरवाहबीच सई, अराफातमा वकुफ तथा जमरामा ढुङ्गा हान्ने लगायतका धार्मिक विधि पूरा गर्ने गर्दछन् । हरेक वर्ष विश्वभरबाट लाखौँ मुस्लिम धर्मावलम्बीहरू मक्कामा भेला हुने हजलाई विश्वकै सबैभन्दा ठूलो धार्मिक वार्षिक जमघटसमेत मानिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार