कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले दोस्रो दिन पनि कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चलाएको छ । कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको जग्गामा बनाइएका १०८ वटा संरचना भत्काइएको हो ।
नगरपालिकाले शनिबारदेखि नगर विकास समितिको कोहलपुर ३ -ख) अन्तर्गतको करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास) मा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको थियो । कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार दुई वटा डोजर प्रयोग गरी १०८ वटा घरटहरा हटाइएको छ । शनिबार सोही क्षेत्रका ४० वटा घरटहरा भत्काइएको थियो ।
'नगरपालिकाले वैशाख १६ गते १० दिने अल्टिमेटम दिएर अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरेको थियो,' प्रमुख थापाले भने, 'नागरिकहरूले सौहार्दपूर्ण वातावरणमा आफैँ सरसामान सार्ने क्रम जारी छ । सामान सारेर खाली गरिएका संरचनामा मात्र हामीले डोजर चलाएका हौँ ।'
नगरपालिकाले विस्थापित हुने नागरिकका लागि अस्थायी बसोबासका निम्ति होल्डिङ सेन्टरको व्यवस्थासमेत गरेको छ । शनिबार ७३ घरधुरीले होल्डिङ सेन्टरमा बस्न फाराम भरे पनि उक्त सङ्ख्या घटेको छ । हाल ५४ परिवारका २०८ जना नागरिक होल्डिङ सेन्टरमा आश्रित रहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रहरी प्रमुख थापाका अनुसार सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका वास्तविक सुकुम्वासी तथा भूमिहीन दलितको पहिचान प्रक्रियासमेत अगाडि बढाइएको छ । गत वर्ष सो स्थानका ७५१ परिवारले फाराम भरे पनि हालको पहिचानका क्रममा १०९ घरपरिवार भूमिहीन दलित र ७४ घरपरिवार मात्र भूमिहीन सुकुम्वासी देखिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार