Listen LIVE

एसियन गेम्स क्रिकेट छनौट : नेपाल फाइनलमा प्रवेश

काठमाण्डौ : सन् २०२६ एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा ओमानले दिएको ९५ रनको लक्ष्यलाई नेपालले ९.२ ओभरको क्षतिमा २ विकेट गुमाएर जित निकालेको हो ।

नेपालका लागि लोकेश बम नटआउट रहेर सर्वाधिक ४४ रन, कुशल भुर्तेलले २०, रोहित पौडेल नटआउट रहेर २१ तथा आशिफ शेखले १ रन बनाए।

ओमानका लागि कप्तान सुफियान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ रन जोडे । अन्य ब्याट्सम्यानले नेपाली बलिङ आक्रमणसामु टिक्न सकेनन् ।

नेपालका लागि करण केसीले चार ओभरमा २० रन खर्चेर सर्वाधिक तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने शाहब आलम, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक विकेट हात पारे । नेपाली बलरहरूले सुरुदेखि नै दबाब कायम राख्दा ओमानले नियमित अन्तरालमा विकेट गुमाएको थियो ।

नेपाल समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको हो । पहिलो खेलमा चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई १६७ रनले हराउँदै समूह विजेताका रूपमा अन्तिम चारमा स्थान बनाएको थियो ।

प्रतिक्रिया