Listen LIVE

च्याउखेतीले बदलेको पुन दम्पत्तिको जीवन

दाङ : पश्चिम रुकुमबाट सात वर्षअघि दाङ झरेका दिलकुमारी पुन र शेरबहादुर बाठा मगर दम्पत्ति छोरीलाई पढाउन ल्याउँदा जीवन नयाँ मोडबाट अगाडि बढ्ने भने सोचेका थिएनन् । तर, छोरीको पढाइसँगै कोठा भाडा र खर्च व्यवस्थापन गर्न मुस्किल हुने भएपछि दम्पत्तिले वैकल्पिकरूपमा व्यवसाय सुरु गर्ने योजना बनाए । परिवारको छलफलमा घोराहीमा व्यावसायिकरूपमा च्याउखेती थाल्ने निर्णय भयो ।

बजार नजिकै लिजमा जमिन खोज्दै उनीहरू घोराही–१७ गैरा गाउँ पुगे । त्यहाँ ६ कठ्ठा जग्गा लिजमा लिएपछि च्याउखेतीका लागि आवश्यक तयारी सुरु भयो । “जग्गा मिलेसँगै हामी च्याउखेतीका लागि चाजोपाजोमा जुटिहाल्यौं,’’ दिलकुमारीले भनिन, ‘‘२०७५ सालमा ‘रुकुमेली खामे मसरुम’ नाममा फर्म दर्ता गरी व्यवसायलाई अगाडि बढायौं ।’’  सुरुमा नयाँ काम भएकाले केही चुनौती भए पनि अहिले उनीहरूको च्याउखेती दाङसँगै आसपासका जिल्लामा समेत परिचित बनेको छ ।

हाल फर्ममा दैनिक एक सयदेखि दुई सय किलोसम्म च्याउ उत्पादन हुन्छ । होलसेलमा प्रति किलो १५० रुपैयाँ र खुद्रा दुई सय रुपैयाँसम्म बेच्दै आएको जानकारी दिए । लमही, घोराही र तुलसीपुरबाट व्यापारीहरू नियमितरूपमा च्याउ लिन आउँछन् । “होलसेल र आफैं फर्मसम्म आइपुग्ने भएकाले हामीलाई बजार खोज्न धेरै धाउनुपरेको छैन,’’ शेरबहादुरले भने ।

वर्षैभरि उत्पादन हुने भएकाले व्यवसाय स्थिर बनेको छ । सात जनालाई रोजगारी दिइरहेको फर्मले स्थानीय स्तरमै रोजगार सिर्जना गरेको छ । “दैनिक २० हजार रुपैयाँभन्दा बढीको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक एक लाखभन्दा बढी बचत गर्न सकिन्छ,’’ दिलकुमारी गर्वका साथ भनिन् ।

पहिले छोरीको पढाइ र घरखर्च कसरी धान्ने भन्ने चिन्तामा रहेका उनीहरू अहिले आत्मनिर्भर मात्र भएका छैनन, दाङमै सफल कृषि उद्यमीको उदाहरण बनेका छन् ।

अहिले उनीरुको एउटै सन्तान छोरी बेलायतमा स्कलरसिपमार्फत अध्ययनरत छिन् । “चार वर्ष भयो, छोरी बेलायत पढ्न गएकी छिन्,’’ उनले भनिन, ‘‘स्कलरसिपमा नाम निकालेपछि हामीले पठायौं ।’’ रुकुमबाट दाङ झरेको यात्रा आज रोजगारी सिर्जना गर्ने बाटोमा उभिएको छ । दृढ इच्छाशक्ति र परिश्रमकै कारण च्याउखेती दम्पत्तिको जीवन परिवर्तन गर्ने आधार बनेको छ ।

प्रतिक्रिया