नेपालगञ्ज : तिहारमा करिब १३ क्विन्टल सयपत्री फूल बिक्री गरेका बाँके कोहलपुरका एक युवा व्यवसायीले यस पटक फूलको माग विगतभन्दा धेरै भएपछि माग पूरा गर्न नसकेको बताएका छन् ।
कोहलपुर –१३ नयाँ बस्तीमा १४ कठ्ठा जग्गामा फूल खेती गरेका युवा व्यवसायी जयबहादुर बस्नेतले आफूले उत्पादन गरेको ११ क्विन्टल फूल तिहारभन्दा दुई दिनअघि बिक्री भइसकेपछि सुर्खेतबाट थप करिब तीन क्विन्टल फूल ल्याएर बिक्री गर्दा पनि माग पूरा गर्न नसकिएको बताए ।
उनले आठ लाख रुपियाँको फूल बिक्री गरेको जनाउँदै अझै आफूसँग भएको भए २० क्विन्टल थप फूल बिक्री गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । जिल्लाको कोहलपुर र नेपालगञ्जका अधिकांश स्थानीयले खेतमै पुगेर आफै टिपेर ताजा फूल लगेर गएको बताए । दुई दिन त खेत बाहिर ठुलो जाम लागेको स्मरण गर्दै व्यवसायी बस्नेतले तिहारभन्दा एक दिनअघि सबै फूल सकिएको बताए ।
उनले भने, “फूलका लागि यति धेरै फोन आएकि मोबाइल बन्द गर्नुपर्ने अवस्था आयो । धेरै मानिस खेतमै पुगेर खाली हात फर्किए । माग पूरा गर्न नसकेकोमा दुःख लागेको छ ।”
बारीमै पुग्नेहरुलाई ५०० रुपियाँ केजीमा फूल बिक्री गरेको जनाउँदै पछि माग धेरै बढेको र बाहिरबाट पनि फूल ल्याउनु परेकाले ६०० रुपियाँ केजीमा बिक्री गरेको जनाउँदै बस्नेतले माग पूरा नहुँदा भारतबाट ल्याइएका फूलहरु नेपालगञ्जमा ७०० रुपैयाँ केजीमा स्थानीयले खरिद गरेको बताए ।
यसवर्ष १४ कठ्ठामा फूल खेती गरेका बस्नेतले माग अत्यधिक रहेकाले अब अर्को वर्षका लागि खेती विस्तार गरेर २० कठ्ठा बनाउने योजना बनाएको बताए ।
सोही प्रकारले कोहलपुर –३ बनकटुवामा फूलखेती गरेकी विष्णुकुमारी चौधरीले पनि यस पटक राम्रो फूल बिक्री भएको बताइन् । उनले १० कठ्ठा जग्गामा फूलखेती गरे पनि हाल पाँच कठ्ठाको मात्र फूल तयार भएको जनाउँदै यस पटक चार क्विन्टलभन्दा बढी फूल बिक्री गरिएको बताइन् ।
यस पटक फूलको माग अत्यधिक बढी भएको देखिएको जनाउँदै अब अर्को बर्षबाट आफूले पनि खेती विस्तारको योजना बनाएको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार