Listen LIVE

विदेशबाट फर्किएर च्याउ खेती, वार्षिक २० लाख आम्दानी

डडेल्धुरा : युवाहरू रोजगारका लागि बिदेसिने क्रम दिन प्रतिदिन बढिरहेको समयमा तीन बर्षअघि बिदेसिएका खेमराज जोशी घर फर्किएलगत्तै च्याउ खेतीमा आफ्नो भविष्य खोज्दै छन् । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका जोशीले अमरगढी नगरपालिका–२ मौरडामा च्याउ खेती गरिरहेका छन् । सुरुमा थुप्रै कठिनाइहरूको सामना गरेका जोशीले अहिले ९ वटा टनेलमा च्याउ खेती गर्दै आएका छन् । 

उनका फार्ममा हरेक वर्ष २० हजार केजी च्याउ उत्पादन हुन्छ । प्रतिकेजी ४ सय रुपैयाँसम्म च्याउ बिकी वितरण गर्दै आएका जोशीले उत्पादन गरेको च्याउहरू अहिले डडेल्धुरासम्म मात्र सीमित नभइ बैतडी, बझाङ, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा पनि निर्यात हुने गरेको छ ।

उनले अहिले च्याउ खानको लागि मात्र नभएर च्याउको बीउ समेत उत्पादन गर्न थालेका छन्, जसले आर्थिक क्षेत्र बलियो बनाउन सहयोग पुगेको उनी बताउँछन्  । 

वार्षिकरुपमा २ सय ग्रामका ५० हजार प्याकेट च्याउको बिउ बिक्री गर्दै  आएका जोशीले अहिले बिउबाट मात्रै वार्षिक १० लाखसम्म आम्दानी गरिरहेका छन् । 

‘कन्ये’ र ‘सिताके’ जातका च्याउहरू उत्पादन गरिरहेका जोशीलाई कृषि ज्ञान केन्द्रले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आइरहेको छ । कृषि ज्ञान केन्द्रले दिने अनुदानले व्यवसाय गर्नलाई थप मदत पुगेको उनी बताउँछन् ।  

जोशीजस्ता उद्यमीहरूले कृषि क्षेत्रमा गरेको योगदानले कृषिमा नयाँ दिशा र सम्भावना देखाउँछ । यद्यपि, कृषि क्षेत्रमा प्राविधिक सहयोग, सरकारी अनुदान र योजनाको आवश्यकता देखिन्छ । 

व्यावसायिक च्याउ खेती गरेर उदाहरणीय बनेका जोशी च्याउ खेतीमार्फत अन्य युवाहरूका लागि पनि प्रेरणाको स्रोत बनेका छन् ।

आफ्नै देशको माटोमा केही गरौँ भन्ने दृढताका साथ काम गरिरहेका जोशी अहिले वार्षिकरुपमा खर्च कटाएर २० लाख रुपैयाँ जति बचत गर्ने गरेको बताउँछन् ।

प्रतिक्रिया