बर्दिया : जिल्ला प्रशासन कार्यालय बर्दियाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दोहोरी साँझ, क्लब, होटल, रेष्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा प्रयोग नगर्न कडा निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल द्वारा जारी सूचनामा बालबालिकालाई नाचगान, गायन, वाद्यवादन, पाहुना स्वागत, मदिरा सेवा, रात्रीकालीन कार्य वा अन्य कुनै पनि श्रम तथा मनोरञ्जनजन्य गतिविधिमा संलग्न गराउनु कानूनविपरीत रहेको उल्लेख गरिएको छ ।
सूचनामा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् तथा प्रचलित कानूनअनुसार बालबालिकालाई जोखिमपूर्ण तथा शोषणजन्य कार्यमा लगाउन नपाइने स्पष्ट गरिएको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ तथा बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार बालबालिकालाई जोखिमयुक्त तथा रात्रीकालीन काममा लगाउनु दण्डनीय कसुर हुने प्रशासनले जनाएको छ ।
यसरी बालबालिकालाई प्रयोग गरेको पाइएमा सम्बन्धित व्यक्ति, व्यवसाय सञ्चालक वा संस्थामाथि जरिवाना, कैद तथा व्यवसाय सञ्चालनमा समेत कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र सञ्चालित होटल, रेष्टुरेन्ट, दोहोरी साँझ, क्लब तथा अन्य व्यवसायिक प्रतिष्ठानलाई बालबालिकाको प्रयोग नगर्न, राजनीतिक गतिविधि, बन्द, हड्ताल, चक्काजाम, धर्ना वा जुलुसमा बालबालिकालाई सहभागी नगराउन र बालअधिकारको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार