नेपालगञ्ज : बढ्दो गर्मी र तातो हावाका कारण बाँके लगायत पश्चिम तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ ।
पछिल्लो एक सातादेखि नेपालगञ्ज र आसपासका क्षेत्रमा तापक्रम निरन्तर उकालो लाग्दै गएपछि दैनिक गतिविधि प्रभावित भएका हुन् । एक्कासी बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । बिहान ९ बजेपछि नै घाम अत्यधिक चर्किने भएकाले बजार तथा ग्रामीण क्षेत्रहरू सुनसान जस्तै बन्न थालेका छन् भने सर्वसाधारणको हिँडडुल समेत घटेको छ ।
नेपालगञ्जका सुलभ आचार्यका अनुसार केही दिन अघिसम्म सहज रूपमा बाहिरी काम गर्न सकिने अवस्था रहे पनि अहिले अत्यधिक गर्मीका कारण बिहान र साँझ बाहेक बाहिर निस्कनै कठिन भएको छ । 'अहिले त धूप नै बले जस्तो छ, दिउँसो काम गर्नै सकिँदैन,' उहाँले भन्नुभयो । गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने विपन्न वर्ग सबैभन्दा बढी प्रभावित बनेका छन् । अटो रिक्सा चालकहरू समेत गर्मीका कारण काम गर्न असहज भएको बताउँछन् । अत्यधिक तापका कारण सडकमा सवारी सञ्चालन गर्ने जाँगर समेत कम भएको उनीहरूको भनाई छ । अन्य समयमा व्यस्त रहने बजारका चोकहरूमा अटो रिक्साको उपस्थिति समेत पातलो देखिएको छ । यसैबीच अधिकांश विद्यालयहरू सत्र समाप्तिका कारण बन्द रहेकाले बालबालिकाहरू घरमै बसिरहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम स्तरको तातो लहर -हिट वेभ)चल्ने चेतावनी दिएको छ । केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ । बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाहरू अझ बढी प्रभावित हुने देखिएको छ ।
चिकित्सकहरूले अत्यधिक गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन् । भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. उमेश ढुङ्गानाका अनुसार शरीरमा पानीको कमी हुन नदिन पटक–पटक पानी, जुस वा अन्य झोल पदार्थ सेवन गर्नु आवश्यक हुन्छ । असामान्य स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने उनले बताए ।
छालारोग विशेषज्ञ डा.अस्मिता गौतमका अनुसार गर्मीका कारण छाला पोल्ने, सुख्खा हुने, एलर्जी र घमौरा आउने समस्या बढ्ने गर्दछ । त्यसैले प्रशस्त पानी पिउन, सुतीका कपडा लगाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन उनले सुझाव दिनुभएको छ । यसैगरी अत्यधिक घाम र धुलोका कारण आँखा पोल्ने समस्या पनि बढ्न सक्ने भएकाले सनग्लासको प्रयोग गर्न तथा प्रदूषणबाट जोगिन नेत्र विशेषज्ञहरूले सुझाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार