नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले विपन्न परिवारलाई लक्षित गरी आयआर्जन वृद्धिका लागि उन्नत जातका बाख्रा वितरण गरेको छ । अतिविपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले स्थानीयमा नयाँ आशा र उत्साह थपेको छ ।
जानकी कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा जानकी गाउँपालिका–४ को आर्थिक सहयोगमा वडा नम्बर ४ का ७० अतिविपन्न परिवारलाई प्रति परिवार चार वटा बाख्रा र एक बोका वितरण गरिएको हो ।
बाख्रा प्राप्त गरेपछि जानकी–४ का उमेशकुमार यादवले खुशी व्यक्त गर्दै भने, 'हामीजस्ता विपन्न परिवारका लागि यो ठुलो सहयोग हो । अब राम्रोसँग पालनपोषण गरेर आम्दानीको भरपर्दो स्रोत बनाउनेछौँ । गाउँपालिकाले दिएको यस सहयोगले भविष्यप्रति आशा बढाएको छ ।'
त्यस्तै, स्थानीय टीकाकुमारी चमारले पनि आभार व्यक्त गर्दै भनिन, 'घरको आर्थिक अवस्था कमजोर भएको बेला आयआर्जनका लागि पाएको बाख्राबाट राम्रो आम्दानी हुने आशा पलाएको छ । यसले हाम्रो परिवारलाई धेरै राहत मिल्नेछ ।'
जानकी–४ की कनकाई तेलीले भनिन, 'हामीले पाएको यो सहयोगलाई सदुपयोग गरेर यसलाई बढाउँदै परिवारको खर्च चलाउन सहज बनाउनेछौँ ।Æ
स्थानीय नुरजहाँ साईले पनि खुशी व्यक्त गर्दै भनिन,'यो बाख्रा हाम्रो परिवारका लागि अगाडि बढ्ने नयाँ सुरुवात हो । यसले आम्दानीसँगै आत्मविश्वास पनि बढाउनेछ ।'
कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले विपन्न परिवारलाई बाख्रा हस्तान्तरण गर्दै यस्ता कार्यक्रमको प्रभावकारी सदुपयोग गर्न सके यसले स्थानीयको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले कृषि तथा पशुपालनलाई आर्थिक समृद्धिको सबैभन्दा भरपर्दो माध्यमका रूपमा उल्लेख गर्दै बाख्रा पालनले आत्मनिर्भर जीवनतर्फ अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गर ।
जानकी कृषि सहकारीका कार्यवाहक अध्यक्ष अमन बर्माले यस कार्यक्रमअन्तर्गत ७० अतिविपन्न परिवारलाई बाख्रा तथा बोका वितरण गरिएको जानकारी दिए । सहकारीले स्थानीय सरकारसँगको सहकार्यमा विपन्न परिवारलाई आत्मनिर्भर बनाउने अभियान अघि बढाएको उनले बताए ।
यो कार्यक्रमले जानकी गाउँपालिकामा 'सहयोगबाट स्वरोजगार, स्वरोजगारबाट आत्मनिर्भरता' भन्ने नारालाई थप मजबुत बनाएको गाउँपालिकाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार