Listen LIVE

तरकारीले किसानको जीवनमा फेरबदल

बैतडी : शिवनाथ गाउँपालिकाले ‘एक घर एक पोलिहाउस’ कार्यक्रम सुरु गरेपछि तरकारी खेती गर्ने बढेका छन् । 

यसअघि बाहिरी जिल्लाको तरकारीमा निर्भर पालिकाका स्थानीय अहिले गाउँमै उत्पादन भएको तरकारी खपत हुन थालेका छन् । गाउँपालिकाले ‘एक घर एक पोलिहाउस’ को योजना ल्याएर किसानलाई ५० प्रतिशत अनुदानमा पाँच सय पोलिहाउस वितरण गरेको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनले तरकारी खेती गर्दा आवश्यक जानकारी दिन किसानको बारीमै कृषि प्राविधिक खटाइएको बताए ।  

गाउँपालिकाले उपकरण र प्रविधि सहयोग गरेपछि १५ वटा पोलिहाउसमा गोलभेँडा खेती र पाँच रोपनीमा बन्दा काउली खेती गरिरहेको शिवनाथ गाउँपालिका–३, पोखरेटीका किसान धनवीरसिंह साउदले बताए । अगुवा किसान साउदले गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा पोलिहाउस र सिँचाइ पोखरी निर्माणका लागि सहयोग प्राप्त भएको बताए । तरकारी खेतीबाट उनले वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । 

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन पालिकाले वार्षिक ४० लाख रुपैयाँ बजेट खर्च गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष शकुन्तला साउदले बताइन् । उनले भनिन, “पालिकाको अनुदान सदुपयोग भए–नभएको अनुगमनसमेत गरिरहेका छौँ । किसानलई आवश्यक पर्ने ज्ञान र सिप सिकाउन प्राविधिकलाई बारीमै पठाउने गरेका छौँ ।” 

शिवनाथका किसान गोलभेँडा र बन्दा खेतीमा आकर्षित हुँदै गएको कृषि प्राविधिक मानबहादुर चौधरीले बताए । रोग, किरा लाग्न नदिन, गोठेमल बनाउन र पोलिहाउस निर्माण गर्दा आवश्यक पर्ने सिप र ज्ञान दिन बारीमै पुग्ने गरेको उनले बताए । १५ वटा पोलिहाउसमा खेती गरेर वार्षिक एक सय क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरेर पालिकाको बजार र प्रदेश राजधानी धनगढीसम्म बिक्रीका लागि पठाउने गरेको अगुवा किसान धनवीरसिंह साउदले बताए । साउदले भने, “यो मौसममा बारीमै ८० रुपैयाँ प्रतिकिलो गोलभेँडा बिक्री भइरहेको छ । गत वर्षभन्दा यो वर्ष बढी मुनाफा भएको छ ।” 

बजार मूल्य एक सय पचास

शिवनाथ गाउँपालिकाका किसानले ८० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको गोलभेँडाको बजार मूल्य १५० रुपैयाँ रहेको छ । गाउँपालिकाले ठुलो लगानी गरेर किसानलाई तरकारी खेती गर्न सिकाए पनि उपभोक्ताले भने चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ । उपभोक्ता र किसानलाई फाइदा पुग्ने गरेर गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरे पनि बिचौलिया तरकारी किन्न किसानको बारीमै पुग्ने भएकाले सङ्कलन केन्द्रमा तरकारी नआएको कृषि प्राविधिक चौधरीले बताए ।

प्रतिक्रिया