Listen LIVE

श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु

एजेन्सी : श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन्।

हालैका वर्षहरूमा श्रीलंकामा भएको सबैभन्दा गम्भीर मौसमी प्रकोपहरूमध्ये एक हो। डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, श्रीलंकाको चिया बगान भएको बदुल्ला जिल्लामा राति आएको पहिरोमा २१ जनाको मृत्यु भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढीको पानीले घरहरू बगाएर लगेको देखिन्छ। प्रभावित परिवारका लागि अस्थायी आश्रयस्थलहरू तयार पारिएका छन्। 

यसैबीच, शुक्रबार थप खराब मौसमको सम्भावनासँग जुध्नका लागि श्रीलंका तयारी गरिरहेको छ, किनकि ‘दित्वाह’ चक्रवात यसको पूर्वी तटतर्फबाट अगाडि बढिरहेको छ । ‘दित्वाह’ पहिले यसको पूर्वी तट नजिकै एक गहिरो दबाबको अवस्थाको रूपमा सुरु भएको थियो। पछि यो द्रुत गतिमा बढेर एक चक्रवात बन्यो। यो भारतको तटमा ल्यान्डफल (तटमा प्रवेश) गर्न सक्ने बताइएको छ। विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् ।

डीएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । डीएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया