Listen LIVE

सीमामा कडाइपछि रुपईडिहा सुनसान, नेपालगञ्जमा चहलपहल

यदुराज मिश्र/नेपालगञ्ज : नेपाल–भारत सीमामा गरिएको कडाइका कारण नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा नेपाली ग्राहकको आवतजावत घटेको छ भने नेपाली बजारमा किनमेल गर्ने ग्राहकको संख्या बढेको छ ।

सरकारले वैशाख २ गतेदेखि भन्सार नियम कडाइका साथ कार्यान्वयन गर्दै सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्यरूपमा भन्सार शुल्क लाग्ने व्यवस्था लागू गरेपछि सीमाक्षेत्रको व्यापारिक गतिविधिमा असर परेको हो ।

नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा यसअघि नेपालगञ्ज, कोहलपुर, खजुरा र बाँकेका ग्रामिण क्षेत्रका बासिन्दा किनमेलका लागि पुग्ने गरेका थिए । तर सीमामा कडाइ बढेपछि नेपाली उपभोक्ताको प्रमुख किनमेल गन्तव्य बनेको रुपईडिहा बजार अहिले सुनसानजस्तै बनेको छ ।

रुपईडिहा बजारमा नेपाली उपभोक्ताले विशेषगरी खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, कृषि सामग्री, मल तथा बिउबिजन खरिद गर्ने गरेका थिए ।

यसअघि खुला सीमा र कमजोर निगरानीका कारण दैनिकरूपमा हजारौँ नेपाली उपभोक्ता रुपईडिहा पुग्ने गरेका थिए । अहिले निगरानी बढेपछि ग्राहक संख्या ह्वात्तै घटेको भारतीय व्यापारीहरूको भनाइ छ । खुला सीमाको फाइदा उठाउँदै सानो परिमाणमा सामान ढुवानी गर्ने तथा अनौपचारिक व्यापार व्यापकरूपमा हुने गरेको थियो । सुरक्षा निगरानी कमजोर हुँदा तस्करीसमेत बढेको आरोप स्थानीयस्तरमा लाग्दै आएको थियो ।

पछिल्लो समय सीमामा कडाइ बढेपछि यस्ता अनौपचारिक कारोबार अधिकांशरूपमा रोकिएका छन् । यसको प्रत्यक्ष असर रुपईडिहाका व्यापारीमा परेको छ । नेपाली ग्राहकमा निर्भर व्यवसायीहरू ग्राहकको प्रतीक्षामा बस्न बाध्य भएका छन् । बिक्री घटेसँगै आर्थिक संकट झेल्नु परेको गुनासो उनीहरूको छ ।

प्रतिक्रिया