Listen LIVE

कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

नेपालगञ्ज : कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे । तर समय फेरिएसँगै बजारमा भित्रिएका बढी फल्ने र छिटो पाक्ने उन्नत हाइब्रिड) जातका धानको भीडमा ती रैथाने बास्नाहरू हराउन थाले ।

अहिले बाँकेमा ३४ हजार १९० हेक्टरमा धानखेती हुन्छ तर ती फाँटहरूमा कालानमकजस्ता परम्परागत जातका धानको उपस्थिति करिब शून्य जस्तै छ । किसान व्यावसायिकतातर्फउन्मुख भएसँगै थोरै लगानीमा धेरै प्रतिफल खोज्दा हाम्रा मौलिक स्वादहरू सङ्कटमा परेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 

किन हराउँदैछ कालानमक ?

कालात्मक धान लोप हुनुका पछाडि मुख्य तीन कारण छन– कम उत्पादन, बढी समय र उच्च लगानी । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सन्तोष पाठकका अनुसार यो धान तयार हुन करिब १४० दिन लाग्छ । असारमा रोपेको धान मङ्सिरको पहिलो साता मात्र भित्र्याउन सकिन्छ । “विगतमा यसको खेती निकै हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै लाभ लिनतिर लागे”, उनी भन्छन, “यसमा सिँचाइ र स्याहार बढी चाहिने तथा रोग किराको प्रकोप पनि बढी देखिने भएकाले किसान ‘हाइब्रिड’तिर आकर्षित भए ।”

कालानमक धानखेतीमा केही प्राविधिक समस्याहरू पनि छन् । पहिलेका बीउहरू धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या थियो । अहिले होचो जातको बीउ प्रयोगमा ल्याइएको छ । अर्को समस्या भनेको ‘किरा’को हो । असोज–कात्तिकमा अन्य धान भित्र्याइसकेपछि वरपरका सबै किराहरू ढिलो पाक्ने कालात्मकमा सर्ने गर्छन्, जसले धान पोकट बनाउने जोखिम रहन्छ । “विगतमा बाँके र बर्दिया जिल्लामा यसको खेती हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे”, सूचना अधिकारी पाठकले भने, “कालानमकको खेती शून्य प्रायः भएपछि अहिले यसको प्रव्रद्धन र प्रचारमा लागेका छौँ ।”

पहिलाको कालानमक धानको बीउ धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या भएकाले अहिले होचो कालानमक बीउ प्रयोगमा ल्याइएको छ । किसानले रासायनिक मल धेरै हाल्ने चलन रहेकाले ढल्ने समस्या देखिएको हुँदा युरिया, डिएपी र पोटासको सन्तुलित प्रयोग गर्न किसानलाई सल्लाह दिने गरिएको पाठकले बताए । उनका अनुसार आर्थिकरूपमा भने यो धान निकै लाभदायक देखिन्छ । सामान्य धानको मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय छ भने कालानमक प्रतिक्विन्टल १० हजारसम्ममा सजिलै बिक्री हुन्छ । विशेषगरी उच्च घराना र पर्यटकको पहिलो रोजाइमा पर्ने हुनाले यसको बजार सुनिश्चित् छ ।

प्रतिक्रिया