Listen LIVE

खजुरामा प्रथम अशोक स्मृति कप हुने

नेपालगञ्ज : बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता २०८३ हुने भएको छ । २० वर्ष उमेरसम्मका खेलाडी खेलमा सहभागी हुन पाउने गरी अशोक स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

दि फेमस महिन्द्र दल गण भूपू र न्यू डाँफे स्पोट्र्स क्लबको संयुक्त आयोजनामा खजुरा डि–गाउँस्थित मिनी रंगशालामा वैशाख २७ गतेदेखि सञ्चालन गरिने आयोजक दि फेमस महिन्द्र दल गणका भूपू अध्यक्ष कृष्णलाल गिरीले जानकारी दिए । 

जिल्ला र पालिकामा दर्ता भएका १२ टिमको प्रतियोगितामा सहभागिता रहने न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिए । नेपाली सेनामा कार्यरत रहेका अशोक बिक फुटबल खेलाडी समेत रहेका थिए ।

खेलाडी विकको स्मृतिमा हुन लागिरहेको फुटबल प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महिन्द्र दल गण भूपूका कोषाध्यक्ष बलबहादुर खड्काले बताए । खेल नकआउट प्रक्रियामा सञ्चालन गरिने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । प्रतियोगिताको प्रथम राशी मुख्य आयोजक महिन्द्र दल गढ भूपुले र दोस्रो पुरस्कार राशी स्वर्गीय अशोकका भाइ तथा न्यु डाँफे स्पोट्र्स क्लबका पूर्व अध्यक्ष हरिप्रकाश विकले बेहोर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । प्रतियोगितामा विधागत पुरस्कारहरू समेत प्रदान गरिने विकले जानकारी दिए ।  

प्रतियोगितामा अल राउन्ड बेष्ट खेलाडीलाई हिरोको साइकल प्रदान गरिनेछ । यस्तै अन्य विधागत उत्कृष्ट खेलाडीलाई नगद २५०० का दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा हरेक दिनको उत्कृष्ट खेलाडीलाई १ हजार नगदसहित पुरस्कृत गरिने आयोजकले जनाए । पत्रकार सम्मेलनमा भूपू समितिका पदाधिकारी, न्यू डाँफे स्पोट्र्स क्लबका पूर्व अध्यक्ष लोक बहादुर खत्री, निवर्तमान अध्यक्ष तिलकबिर सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया