दाङ : पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् ।
स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्छन् । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षीय उनले गत वर्ष मात्रै १८ लाख बराबरको स्ट्रबेरीको कारोबार भएको बताए । “गत वर्ष ११ लाख त बचत नै भयो”, उनले भने, “अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।” उनका अनुसार यस वर्ष हालसम्म चार लाखभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको छ ।
साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरेका हुन् । उनले स्ट्रबेरी प्रतिकिलो खुद्रामा सात सय र थोकमा पाँच सयमा बिक्री भइरहेको बताए । उनले स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको सुनाए ।
किसान साउदले भने, “कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।” परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए । घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिकरुपमा स्ट्रबेरीखेती गर्दै आएका छन् ।
स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ । उनले भने, “सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा रु सात लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।” उनका अनुसार कुल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको छ ।
“स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येमा पर्छ”, उनले भने, “आज भोलिको समय राम्रो हुन्छ ।” जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा यसको खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेको उनी बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार