बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका छन् ।
करिब एक दशक अगाडि काठमाडौँको थानकोटबाट व्यावसायिक तरकारी खेतीको सुरूवात गरेका ४१ वर्षीय लालबहादुर र ३८ वर्षीय श्रीमती बिस्ना देवि ऐडीले अहिले गाउँमै तरकारी खेती गरिराहेका छन् ।
दस रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीमा गर्दै आएको ऐडी दम्पत्तिले एक छोरालाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाएका छन् भने एक छोरा र एक छोरीलाई सदरमुकाम मार्तडीमै पढाई राखेका छन् ।
तरकारीको कमाइले कसैको मुख ताक्न नपरेको ऐडीले बताए । जिल्लाको सदरमुकाम मार्तडी नजिकै रहेको आफ्नै गाउँ गड्खेतमा लोभलाग्दो तरकारी खेती, खास लाग्दो र आसलाग्दो कमाइ गर्दै आएका छन् ।
हिमाल बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्ममार्फत व्यावसायिक तरकारी खेतीमा लागेका ऐडी दम्पत्तिले यहि कर्म आफ्नो जिवनको अन्तिम सपनाका रूपमा लिएका छन् । पछिल्लो समय देशमा रोजगारीको अभाव भएको भन्दै युवाहरू विदेशिन बाध्य छन् । तर ऐडी दम्पत्तिले गाउँका अरु दुई दर्जनभन्दा बढी किसानहरूलाई व्यावसायिक तरकारी खेतीमा आकर्षण गर्न उत्प्रेरित गरे ।
उनको लोभलाग्दो तरकारी खेतीले कृषि क्षेत्रमा लाग्ने हौसला प्रदान भएको नरबहादुर विकले बताए । आफ्नै गाउँमा बेमौसमी तरकारी खेतीमार्फत विदैशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी हुने गरेको विकले बताए । यती बेला ऐडी दम्पत्तिकै अगुवाइमा गड्खेत गाउँका घरै पिच्छे १ देखि ६ सम्म ग्रीन हाउस निर्माण गरी तरकारी खेती भइरहेको छ । लालबहादुर र बिस्ना ऐडी दम्पत्तिले यस वर्ष तरकारी खेतीबाटै करिब आठ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।
२१ वटा ग्रिन हाउस (प्लास्टिकको संरक्षित घर)सहित खुला खेतमा समेत तरकारी खेती गर्दै आएका उनी समग्रमा ५० जति ग्रीन हाउस निर्माण गर्ने र थप खेती स्तरोन्नति गर्ने तयारीमा छन् । रातदिन बारिकै काममा व्यस्त ऐडी दम्पत्तिले पछिल्लो समय काममा सहजताका लागि दुई जना श्रमिकलाई राजगारी दिएका छन् । आफैँ बेर्ना उत्पादन गरेर बारीभरि टमाटर, ब्रोकाउली, काउली, फुल गोभी, चिचिन्डा, काक्रो, भिन्डी, गाजरलगायत तरकारी फलाइ रहेका ऐडी दम्पत्तिले दैनिक ४२ केजी तरकारी सदरमुकाम मार्तडीस्थित विद्यालयमा दिवा खाजाका लागि मात्रै पठाउने गरेको बताए ।
मार्तडी बजारसँगै बाम्का, बजारसम्म आफुले तरकारी पुर्याउने गरेको उनले बताए । ऐडी दम्पत्तिको रहर लाग्दो र लोभलाग्दो कृषि कर्मकै कारण हाल कृषि ज्ञान केन्द्र बाजुरा, बडिमालिका नगरपालिका कृषि शाखा र विभिन्न सङ्घसंस्था मार्फत अनुदानका कार्यक्रमहरू समेत प्रदान भइरहेका छन् ।
जिल्लाकै नमुना व्यावसायिक कृषकका रूपमा स्थापित ऐडीलाई बडिमालिका नगरपालिकाले उत्कृष्ट कृषक घोषणा गरेको छ भने पुरस्कृत गर्ने तयारी समेत गरेको छ । ऐडी दम्पत्तिको लगाव बाजुराका समग्र कृषकहरूका लागि प्रेरणा भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । ऐडीको व्यावसायिक तरकारी खेतिमा ज्ञान केन्द्रले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार