नेपालगञ्ज : आयोजक धम्बोझी क्लबले जेनजी सहिद ई. सुलभराज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा आयोजित प्रथम यु–२० (नाइन ए साइड ) फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धम्बोझीले खजुराको ब्रदर्श एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । उपाधिसँगै धम्बोझीले ५१ हजार र उपविजेता ब्रदर्श एफसीले ३१ हजार रुपियाँ पुरस्कार पायो ।
विशालचोकस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको खेलमा निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । खेल सकिन करिब ३ मिनेट बाँकी रहेको अवस्थामा अनिपाल शाहीले गोल गर्दै धम्बोझीलाई खेलमा फर्काएका थिए ।
शुरुवातमा ब्रदर्शले २७औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । तर ४७औं मिनेटमा अनिपालले गोल गर्दै खेल बराबरी गरे । पेनाल्टी सुटआउटमा धम्बोझीका सुदिप केसी, महेश बुढाथोकी र अजय परियारले गोल गरे । ब्रदर्शका सुरज विक र सैलेन्द्र विसीले मात्र गोल गरे ।
फाइनल खेलमा धम्बोझीका गोलकिपर गोकर्ण पुन प्लेयर अफ दी फाइनल घोषित भए । प्रतियोगितामा धम्बोझी अनिपाल शाही सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमका खेलाडीलाई जेनजी सहिदद्धय ई. शुलभराज श्रेष्ठ र आयुष थापा मगरको परिवार, अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाही, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वडाध्यक्ष प्रमोद रिजाल, आयोजक धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरलगायतले पुरस्कृत गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार