बर्दिया : वन्यजन्तुको आक्रमण बढ्दै गएपछि बर्दियामा बाघ र चितुवालाई बस्ती पस्नबाट रोक्न नयाँ प्रविधिको परीक्षण शुरु गरिएको छ । मधुवन नगरपालिका अन्तर्गत खाता जैविक मार्ग आसपासका सामुदायिक वन क्षेत्रमा कृत्रिम गन्ध आउने रसायन प्रयोग गरेर परीक्षण अघि बढाइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रका बस्तीमा हरेक वर्षजसो बाघ र चितुवा जस्ता हिंस्रक वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । यही समस्या न्यूनीकरण गर्न तराई भूपरिधि संरक्षण कार्यक्रमको सहयोग तथा डिभिजन वन कार्यालय र खाता सामुदायिक वन समन्वय समितिको समन्वयमा उक्त परीक्षण थालिएको हो ।
डिभिजन वन कार्यालयका अनुसार सामुदायिक वनका ३० स्थानमा बाघको पिसाब जस्तै गन्ध आउने पाँच प्रकारका रसायन राखेर दोस्रो चरणको परीक्षण भइरहेको छ । वन्यजन्तुले आफ्नो क्षेत्र निर्धारण गर्न गन्ध प्रयोग गर्ने स्वभावलाई ध्यानमा राख्दै अर्को बाघ वा चितुवा त्यस क्षेत्रमा प्रवेश नगर्ने विश्वासका साथ यो विधि अपनाइएको हो ।
यसअघि पनि गत वर्ष ३० स्थानमा १० प्रकारका रसायन प्रयोग गरेर पाँच महिनासम्म परीक्षण गरिएको थियो । त्यसको प्रारम्भिक नतिजा सकारात्मक देखिएपछि यस वर्ष थप परिष्कृत ढङ्गले परीक्षण अगाडि बढाइएको हो । दक्षिण अफ्रिकाबाट ल्याइएको उक्त रसायन नेपालमा पहिलो पटक प्रयोग गरिएको जनाइएको छ ।
खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङका अनुसार गत चैतदेखि बस्ती नजिकैका वन क्षेत्रमा रसायन राखेर परीक्षण भइरहेको छ । डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले परीक्षण क्षेत्रमा रसायनसँगै क्यामेरा जडान गरी वन्यजन्तुको व्यवहार र प्रतिक्रिया अध्ययन गरिँदै आएको जानकारी दिए ।
वन क्षेत्रमा पाइपमार्फत राखिने यी रसायनले अन्य जैविक प्रणालीमा असर नपर्ने बताइएको छ । परीक्षण सफल भए बाघ र चितुवालाई बस्ती प्रवेशबाट रोक्न प्रभावकारी उपाय बन्ने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार