Listen LIVE

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

नेपालगञ्ज : रातको समयमा ई–रिक्सा सहजै देखिने बनाउन ट्राफिक प्रहरीले नेपालगञ्जमा रिफ्लेक्टिभ स्टिकर टाँस्न थालेको छ । सडक दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरीले ई–रिक्सा चालकलाई लक्षित गरी सचेतना अभियानसमेत सञ्चालन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज ई–रिक्सा व्यवस्थापन प्रालिको संयुक्त आयोजनामा ई–रिक्सा चालकलाई सडक सुरक्षासम्बन्धी जानकारी दिइएको हो ।

कार्यक्रममा चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, चालक अनुमतिपत्र तथा आवश्यक कागजात साथमा राख्न, मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी नचलाउन र क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको थियो । यस्तै, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, पैदल यात्रुलाई प्राथमिकता दिन र सवारीसाधनको नियमित मर्मतसम्भार गर्नसमेत सचेत गराइएको थियो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनका लागि नियमित रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

'ई–रिक्सा चालकले ट्राफिक नियम पालना गर्ने, आवश्यक कागजात साथमा राख्ने र नाबालकलाई सवारी चलाउन नदिने विषयमा विशेष ध्यान दिनुपर्छ,' उनले भने । रातको समयमा दुर्घटनाको जोखिम कम गर्न पछाडिको 'ब्याक लाइट' नभएका ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक ओमबहादुर खड्काले बताए । उनका अनुसार पछाडिबाट आउने अन्य सवारीसाधनले रातको समयमा ई–रिक्सा सहजै देख्न सकून् भन्ने उद्देश्यले स्टिकर टाँसिएको हो । ट्राफिक प्रहरीले करिब ३ हजार ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा ई–रिक्साको दायाँतर्फ फलामको डन्डी जडान गर्नुपर्ने विषयमा समेत चालकलाई जानकारी गराइएको थियो ।ट्राफिक प्रहरीका अनुसार नियमित सचेतना कार्यक्रमपछि ई–रिक्सा चालकले ब्लुबुक, चालक अनुमतिपत्रलगायत आवश्यक कागजात साथमा राख्ने क्रम बढेको छ । यसअघि नाबालकले ई–रिक्सा चलाउने गरेको पाइए पनि निगरानी र कारबाहीमा कडाइ गरेपछि त्यस्ता घटना कम हुँदै गएको वरिष्ठ प्रहरी नायव निरीक्षक खड्काले बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी, ट्राफिक प्रहरी, ई–रिक्सा व्यवस्थापनका प्रतिनिधि तथा चालकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया