बर्दिया : बर्दियामा गत वैशाखयता नदीजन्य घटनामा डुबेर १० जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । नदी, खोला र नहरमा नुहाउने क्रममा, माछा मार्ने, दाउरा संकलन गर्दा डुबेर मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।
साउन १० मा राजापुर नगरपालिका–५ मा मैलाखोलामा पौडी खेल्दा १४ वर्षीय पुजन परियारको मृत्यु भएको थियो । साउन १९ मा बढैयाताल गाउँपालिका–२ का ३५ वर्षीय गोपाल सुनारको मैलाखोलामा माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी रेशम बोहोराले बताए ।
साउन २५ मा गेरुवा–३ की ७६ वर्षीया जगमति थारु कर्णाली नदीमा डुबेर वेपत्ता भइन् । उनको शव दुई दिनपछि फेला परेको प्रहरीले जनाएको छ । गत असार २६ मा बासगढी–३ का ११ वर्षीय उत्तम थारु घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा मृत्यु भएको थियो ।
गत असार २४ मा गेरुवा–४ का २४ वर्षीय प्रदिप थारु कर्णाली नदीनजिक भैंसी चराउन गएकोमा फर्काउने क्रममा डुबेर बेपत्ता भएका छन् । उनको खोजी गरिए पनि फेला नपरेको डिएसपी बोहोराले बताए । नदी खोलामा जाँदा सुरक्षाको मापदण्ड नअपनाउँदा डुबेर मृत्युका घटना हुने गरेको प्रहरीको भनाई छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले खोलानालामा नुहाउन जाँदा, दाउरा संकलन गर्दा सुरक्षाको मापदण्ड नअपनाउँदा यस्ता दुर्घटना हुने गरेको बताए । 'विपद् व्यवस्थापन समितिले यस्ता घटना नहुन दिन जनचेतनामूलक कार्यक्रम त गरिरहेको छ, तर रोक्न सकेका छैनौं,' उनले भने, 'यस्ता घटना थाहा हुनासाथ सुरक्षाका सबै अंग उद्धार कार्यमा परिचालन हुने गरेका छन् ।' डुबेका घटनाको उद्धार कार्यका लागि पर्याप्त दक्ष जनशक्ति र सामग्रीको आवश्कता रहेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार