Listen LIVE

आर्थिक समृद्धिको नयाँ आधार बन्दै बाँकेका सामुदायिक वन

नेपालगञ्ज : बाँकेमा वन जोगाउने अभियान वातावरणीय सन्तुलनमा मात्र सीमित नभई आर्थिक समृद्धिको नयाँ आधारका रुपमा विकसित हुँदै गएको छ । वन संरक्षणलाई केवल वातावरण जोगाउने एउटा सीमित र परम्परागत दायित्वका रूपमा मात्र हेरिन्थ्यो तर पछिल्ला वर्षहरूमा बाँके जिल्लाले वन संरक्षणको परिभाषा मात्र बदलेको छैन, यसलाई स्थानीय अर्थतन्त्र र समृद्धिको बलियो आधारसमेत बनाएको छ ।

यो स्थानीय रोजगारी, आयआर्जन, पर्यटन प्रवद्र्धन र जैविक विविधताको संरक्षणसँग जोडिएको एउटा बृहत् हरित आर्थिक अभियानका रूपमा विकसित भइरहेको छ । बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र सरकारद्वारा व्यवस्थित वनहरूले जिल्लाको ठूलो भूभाग ओगटेका छन् । यहाँका वन क्षेत्रमा बाघ, गैँडा, हाती, चितुवा, जरायो, बँदेल, नीलगाई लगायतका दुर्लभ वन्यजन्तुको वासस्थान रहेको छ ।

वन संरक्षण प्रभावकारी बन्दै जाँदा वन्यजन्तुको सङ्ख्या बढेको छ भने वन क्षेत्रको घनत्वसमेत सुधारिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार बाँकेका सामुदायिक वनहरू अहिले ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधार बनेका छन् ।

वन उपभोक्ता समूहहरूले काठ, दाउरा, घाँस तथा विभिन्न गैरकाष्ठ वन पैदावारको व्यवस्थापन गरेर वार्षिक लाखौँ रूपैयाँ आम्दानी गरिरहेका छन् । ती रकम वन संरक्षण, सामुदायिक विकास, विद्यालय, सडक तथा विपन्न परिवारको सहयोगमा खर्च गरिँदै आएको छ । यसले वन संरक्षण र सामाजिक विकासलाई एकसाथ अगाडि बढाएको छ ।

वनबाट प्राप्त हुने गैरकाष्ठ वन पैदावारको सम्भावना पनि बाँकेमा उल्लेखनीय छ । सतुवा, कुरिलो, हर्रो, बर्रो, अमला, बेल, मह तथा विभिन्न जडीबुटीजन्य उत्पादनहरू स्थानीय समुदायका लागि आम्दानीको स्रोत बनेका छन् । पछिल्लो समय यस्ता उत्पादनको व्यावसायिक खेती तथा प्रशोधनतर्फ आकर्षण बढ्दै गएको छ ।

वनमा आधारित उद्यम सञ्चालन गरेर धेरै युवाले रोजगारी पाएका छन् । विदेश जानुपर्ने बाध्यता केही हदसम्म कम गर्न पनि यस्ता गतिविधिले सहयोग पुर्याइरहेका छन् । राष्ट्रिय वनसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजनल वन अधिकृत गुप्ताले बताए ।

बाँके निकुञ्ज स्थापना भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । वन्यजन्तु अवलोकन, जङ्गल सफारी, प्रकृति अध्ययन र पर्यावरणीय पर्यटनका गतिविधिले स्थानीय होटल, यातायात तथा अन्य व्यवसायलाई चलायमान बनाएको छ । पर्यटनसँग जोडिएका स्थानीय युवाले प्रकृति पथप्रदर्शक, होटल व्यवसायी तथा सेवा प्रदायकका रूपमा रोजगारी प्राप्त गरिरहेका छन् ।

यसले वन संरक्षणबाट प्रत्यक्ष आर्थिक लाभ लिन सकिने उदाहरण प्रस्तुत गरेको छ । 'वन संरक्षणले कृषि क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको छ । बाँकेका धेरै क्षेत्रमा वन संरक्षणका कारण मुहान र जलाधार क्षेत्र सुरक्षित भई यसबाट खेतीपातीका लागि आवश्यक पानी उपलब्ध हुन मद्दत पुगेको छ,' गुप्ताले भने ।

उनका अनुसार अब वनलाई केवल संरक्षणको दृष्टिले मात्र होइन, हरित अर्थतन्त्रको आधारका रूपमा हेर्न आवश्यक छ । कार्बन व्यापार, पर्यावरणीय सेवा, प्रकृतिमा आधारित पर्यटन तथा वनजन्य उद्योगहरू विकास गर्न सके बाँकेले आर्थिक समृद्धिको नयाँ उचाइ हासिल गर्न सक्छ ।

उनका अनुसार, आज बाँकेमा वन संरक्षण र आर्थिक विकासबीचको सम्बन्ध स्पष्ट रूपमा देखिन थालेको छ । जङ्गललाई सम्पत्तिका रूपमा संरक्षण गर्दै त्यसको दिगो उपयोग गर्न सकियो भने हरियाली नै समृद्धिको आधार बन्न सक्छ । बाँकेले यही मार्ग समातेको छ, जसले अन्य जिल्लाका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ ।

जलवायु परिवर्तनका असर बढ्दै गएको अवस्थामा वनले तापक्रम नियन्त्रण, वर्षा चक्र सन्तुलन र माटो संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यसले अन्ततः कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षामा योगदान पुर्याउँछ ।

प्रतिक्रिया