Listen LIVE

एसिसी प्रिमियर कपमा नेपालको शानदार शुरुवात

नेपालगञ्ज : मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको समूह चरणको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । आज बिहानदेखि सुरु भएको खेलमा बहराइनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमै ३ विकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालका लागि अर्जुन कुमालले संयमित ब्याटिङ गर्दै सर्वाधिक ३६ रन बनाए । उनले ५८ बलमा ५ चौका प्रहार गरे । उनी नटआउट रहे । कप्तान रोहितकुमार पौडेलले १४ बलमा १९ रनको नटआउट इनिङ खेले । उनले एक चौका र एक छक्का प्रहार गरे । ओपनर आसिफ शेखले २५ बलमा २ चौका र एक छक्कासहित १८ रन बनाएर आउट भए । 

देव खनाल १९ बलमा १० रन जोड्दै पभेलियन फर्किए भने इशान पाण्डे १ रनमै रनआउट भए । यसअघि टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु ३६.२ ओभरमा ८७ रनमै समेटिएको थियो ।

बहराइनको इनिङ ध्वस्त पार्ने क्रममा नेपाली कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरे । उनले १० ओभरमा मात्र १४ रन खर्चेर ५ विकेट लिए । उनको स्पेलमा ४ ओभर मेडन रहेको थियो । ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइन ठूलो स्कोर बनाउनबाट रोकिएको हो । बहराइनका लागि फैज अहमदले सर्वाधिक १५ रन बनाए । प्रतियोगितामा नेपालको अब दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग हुनेछ । 

त्यसपछि भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल भदौ २५ गते तथा तेस्रो स्थानको खेल र फाइनल भदौ २७ गते हुने तालिका छ । २०२७ को एसिया कपमा स्थान बनाउन नेपालका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ । एसिया कपमा छनोट हुन नेपालले प्रतियोगिताको उपाधि जित्नुपर्नेछ ।

प्रतिक्रिया