Listen LIVE

गोली प्रहार गरी बाँकेका प्रेम पक्राउ

काठमाण्डौ : श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेका बाँकेका प्रेम थारुलाई काठमाडौं प्रहरीले गोली हानेर पक्राउ गरेको छ । 

काठमाडौं प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकाल क्षेत्रमा गएराति विशेष सूचनाका आधारमा थारुलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनुपरेको हो । घटना राति करिब साढे ११ बजेको समयमा भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार उनलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी हवल्दार पनि सामान्य घाइते भएका छन् । थारुको खुट्टामा गोली लागेको छ र उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी थापाले बताए ।

प्रहरीले थारुको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद रकम तथा घरेलु हतियार बरामद गरेको एसएसपी थापाले जानकारी दिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनी काठमाडौं उपत्यकामा भएका विभिन्न चोरीका घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा रहेका व्यक्ति हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएपी थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया