काठमाण्डौ : सडकमार्गको पहुँच नहुँदा गोरखाको उच्च हिमाली क्षेत्रमा उत्पादन भएका करोडौँ रुपैयाँ बराबरको स्याउ नष्ट भएको छ ।
गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकामा उत्पादित स्याउले बजार नपाउँदा नष्ट भएको हो । सडक पहुँच नभएको र हवाईमार्गमार्फत ल्याउँदा लागत महँगो भई बिक्री नभएपछि गाउँपालिकाका प्रतिनिधि र स्थानीय कृषकले शुक्रबार पत्रकार सम्मेलन गरेर स्याउ ढुवानीका लागि व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले गाउँपालिकामा ३० हजार बिरुवाबाट वार्षिक १३ लाखदेखि १५ लाख केजी स्याउ उत्पादन हुने गरेको जानकारी दिए । सडक पहुँच नहुँदा लाखौँ केजी स्याउ नष्ट भएकाले केन्द्रीय सरकारलाई ढुवानीको व्यवस्था गराइदिन उनले आग्रह गरे । चुमनुब्री गाउँपालिकामा स्याउ खेती राम्रो हुने गरे पनि भौगोलिक विकटताले गर्दा किसानले बजारसम्म ल्याउन नसकी कुहिएर खेर जाने गरेको जानकारी उनले दिए ।
स्याउ उत्पादन बढाउन स्थानीय र प्रदेश सरकारबाट बिरुवा वितरण भइरहे पनि बजारीकरणको समस्या भएको उनको भनाइ छ । चुमनुब्री गाउँपालिकाका कृषक लाप्पा ढुन्डु लामाले तीन सय रोपनी जग्गामा स्याउ खेती लगाए पनि बजारमा ल्याउन नसक्दा सबै खेर गएको बताए । हेलिकोप्टरबाट स्याउ ढुवानी गर्दा प्रतिकेजी ६६६ रुपैयाँ पर्दा बिक्री हुन समस्या भएको उनको भनाइ छ ।
सस्तो मूल्यमा चिनियाँ र भारतीय स्याउले बजार ओगटेका बेला हिमाली जिल्लामा उत्पादित उच्च गुणस्तरको स्याउ बजारसम्म ल्याउन नसक्दा १२ करोड रुपैयाँ बराबरको पाँच लाख केजी स्याउ खेर गएको उनको भनाइ छ । “सडकमार्ग बन्छ भनेर तीन वर्षअघि तीन सय रोपनीमा स्याउ खेती गरेँ, अहिलेसम्म सडक पुगेको छैन,” उनले भने, “सरकारले ढुवानीको सुविधा उपलब्ध गराइदिए स्थानीय उत्पादनलाई प्रवर्धन गर्न सकिन्छ ।”
तीन लाख भाडा तिरेर हेलिकोप्टरबाट ४५० केजी स्याउ ल्याउँदा काठमाडौँमा प्रतिकेजी ६६६ रुपैयाँ परेकाले किसानले बजारसम्म पुर्याउन सक्ने अवस्था नरहेको उनले बताए । चिनियाँ फुजी स्याउ नेपाली बजारमा २० केजीको पाँच हजारदेखि छ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।
गण्डकी प्रदेश सरकारले ७० प्रतिशत अनुदान उपलब्ध गराएका स्याउका बोट फल्न थालिसके पनि बजारको सुविधा नहुँदा स्याउ कुहिएर खेर जाने गरेको छ । धार्चे गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङले सडकमार्ग नहुँदा यहाँ उत्पादित अन्य फलफूल तथा तरकारी पनि त्यत्तिकै खेर जाने गरेको बताए । खेर जाने स्याउको रक्सी बनाएर बिक्री गर्ने सम्भावना भए पनि खुला रूपमा बिक्रीवितरण गर्ने व्यवस्था नहुँदा स्याउ खेर जाने गरेको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार