सल्यान : सल्यानका किसानले लगाएको वर्षे आलुमा पुतली किराको प्रकोप देखिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ निगालचुलाका ६८ घर परिवारले लगाएको करिब १७ हेक्टर आलु खेतीमा पुतली किराको प्रकोप देखिएको हो ।
भण्डारणका क्रममा देखिने पुतली किरा अहिले आलु बारीमा देखिन थालेपछि किसान चिन्तित भएका छन् । आलु रोप्ने समयमा पानी नपरेको र अहिले रोग किराको समस्या देखिँदा उत्पादन घटने सम्भावना देखिएको निगांलचुलाका किसान जित बहादुर ओलीले बताए ।
३ सय ४० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको आलु खेतीमा रोग किरा देखा परेको बनगाड कुपिण्डे नगरपालिका कृषि विकास शाखा प्रमुख नारायण बेलवासेले जानकारी दिए । क्षतिग्रस्त आलुको बिउमा भएको लार्भा वयस्कमा परिणत हुन गई वयस्क पुतलीले आलुबालीको पातमा फुल पारी सोबाट निस्किएको लार्भाले हाल आक्रामकरूप लिएको उनको भनाई छ ।
आलु खेतीमा किराको प्रकोप देखिएपछि कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाबाट विज्ञसहितको टोलीले स्थलगत अनुगमन गरी उपचार सुरु गरेको छ ।
तत्काल समस्या समाधानका लागि एकीकृत कृषि प्रयोगशाला सुर्खेतले निम तेल, पि.टि.एम.ल्युर र विषादी छर्नका लागि स्प्रेयर ट्याङ्की समेत कृषकहरूलाई निःशुल्क प्रदान गरेको छ । प्राविधिक निरीक्षणपछि किराको प्रकोप रोकथामका लागि आवश्यक उपायहरू अपनाउन सुझाव दिइएको छ । कृषकहरूलाई सचेत गराउँदै कृषि प्राविधिकहरूले रोग फैलन नदिन खेतमै क्षतिग्रस्त बोटहरू हटाउने, पुराना बीउ प्रयोग नगर्ने र उचित जैविक नियन्त्रण उपाय अपनाउने सुझाव दिएका हुन् ।
निगांलचुलाका अधिकांश कृषकहरूको जीवनयापन कृषिमा आधारित रहेको हुँदा यस्तो समस्या दीर्घकालीनरूपमा दोहोरिन नदिन उचित बीउ छनोट, भण्डारण विधि सुधार र वैज्ञानिक कृषि पद्धतिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको कृषि विज्ञको भनाइ छ ।
कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ चित्र बहादुर रोकायाले बिशेषगरि जलवायु परिवर्तनको प्रत्यक्ष असरले यो समस्या देखा परेको बताए । दुई तिन बर्ष पहिले यो क्षेत्रमा यस्तो समस्या नदेखिएको र अहिले जलवायु परिवर्तन नै यसको कारक बनेको बताए । उनले पुतली किराको प्रकोपसँगै फेद काट्ने किराको पनि समस्या देखिएको बताए । यसलाई सुधार गर्न उपचार विधि सुरु गरिसकेको वरिष्ठ कृषि अर्थ विज्ञ रोकायाले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार