Listen LIVE

बाँस खेतीबाट मनग्य आम्दानी गर्दै दाङका कृषक

दाङ : दाङका किसानहरु वाँस खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् । पछिल्लो समय बाँसको अभाव भइरहेका बेला सौरीकुलाका किसानहरु बाँस खेतीबाट आम्दानी लिएका हुन् । 

घोराही उपमहानगरपालिका –८ सौरीकुलाका डम्बर चौधरी पछिल्लो तीन महिनाको विचमा झण्डै एक लाख रुपैयाँ बराबरको बाँस विक्री गरेको बताए । उनले फागुन, चैत र वैशाख महिनामा ९४ हजार रुपैयाँको बाँस विक्री गरेको बताए । प्रतिवाँस तीन सयदेखि पाँच सयको दरमा विक्री हुने गरेको उनले जानकारी दिए । बाँसको आकार हेरेर हामीले बाँसको मूल्य निर्धारण गर्छौ, उनले भने, “अहिले हामी तीन सयदेखि पाँचसयको दरमा प्रतिबाँस बेचिरहेका छौं ।”

अहिले बजारमा बाँसको अभाव छ, हामीले भनेको जति पुगाउन सकेका छैनौ, उनले भने, “बाँसखेती गर्न सकेमा राम्रो आम्दानी हुँदोरहेछ । बाँस बहुउपयोगी बस्तु हो ।” घर बनाउनदेखि बस्ने मान्छे बस्ने मुंग्रासम्ममा बाँसको प्रयोग हुन्छ । त्यसैले पछिल्लो समयम बासको मार्केट पनि बढेको उनले बताए । आफूले पनि बाँसबाट छ्ट्विा, गैजा, डेल्या, छटरी बनाएर बेच्ने गरेको उनले बताए ।  

कम लगानी र डाँडाकाँडादेखि खोला किनारमा समेत बाँसको खेती सजिलै गर्न सकिन्छ, उनले भने, “हाम्रो गाउँमा धेरै किसानले बाँसको खेती गर्दै आउनुभएको छ, मैले करिब १० कठ्ठामा बाँस रोपेको छु । बाँस खेतीबाट आएको आम्दानीले घरखर्च र छोराछोरीलाई पढाउँदै आएको छु्ँ ।” अहिलेसम्म आफूले बाँस खेतीबाट सन्तुष्ट रहेको उनले सुनाए ।  

सोही गाउँका टेकललाल चौधरीले पनि बाँसखेतीबाट मनग्य आम्दानी लिदै आएका छन् । उनले करिब १० कठ्ठामा बाँसखेती गर्दै आएको बताए । डम्बरजस्तै आफूले पनि बाँसखेतीबाट आम्दानी लिदैआएको बताए । अन्य खेतिपातीभन्दा बाँसखेतीमा सजिलो हुनेभएकाले बाँसखेतीमा लागेको बताए ।

‘पहिला पहिला घरबारीमा बार बेर्नका लागि बाँस रोप्दै आएको थिएँ, उनले भने, “अहिले व्यावसायिकरुपमा बाँसखेती गर्दैआएको छु ।’ बाँसखेतीबाट राम्रो आम्दानी हुने थाहाँ पाएपछि आफूले व्यावसायिकरुपमा बाँसखेतीमा लागेको बताए ।

‘एउटा बाँसको घारीबाट झण्डै पन्ध्र हजारसम्म आम्दानी आउँछ, उनले भने, “बर्षमा १० घारीको बाँस बेच्ने हो भने डेढलाख कहिँ जाँदैन ।’ उनका अनुसार एउटा घारीमा कम्तिमा पनि पचास वटा बाँस हुन्छ । ‘मलजल गर्न सकियो भने एउटै बाँसको घारीमा धेरै बाँस उत्पादन हुन्छ’ उनले भने, “त्यसैले अन्य खेतिभन्दा बाँसखेती गर्न सजिलो छ ।”

डम्बर र टेकलालजस्तै सौरीकुला गाउँका धेरै किसानले बाँसखेती गर्दैआएको टेकलालले बताए । उनको अनुसार त्यहाँका किसानले पाँच विघाभन्दा बढी जग्गामा बाँसखेती गर्दै आएका छन् ।

प्रतिक्रिया