सुर्खेत : कर्णालीका केही जिल्लामा अझैसम्म पनि शुद्ध खानेपानीको हाहाकार छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चागाउँ अहिले काकाकुल बनेको छ । यहाँका स्थानीयले झन्डै पाँच दशकदेखि पानीकै लागि ठुलो सास्ती भोगिरहेका छन् ।
गाउँमा ११ वटा कुवा छन् तर सबै जसो कुवा सुकेका छन् । स्थानीयले अहिले लेदो पानी कपडाले छानेर खाइरहेका छन् । कुवामा सर्प, भ्यागुता, किरा, फट्याङ्ग्रा मरेका भए पनि त्यहाँको पानी खानै पर्छ । नत्र कुनै विकल्प नै छैन । यो स्थिति कर्णालीको विकास र जनजीवनका लागि ठुलो चिन्ता र चुनौती हो । स्थानीय पेउरी बुढा भन्छन, 'पुर्खौंदेखि पानीका लागि ठुलो सास्ती बेहोरिरहेका छौँ । हिउँदको छ महिना लेदो पानी छानेर उपभोग गरे पनि बर्खा सुरु हुँदा गाउँ नै काकाकुल बन्छ ।' दिगो खानेपानीका लागि सरकारले अहिलेसम्म पनि पहल नगरेकोमा उनले चिन्ता व्यक्त गरे ।
कर्णालीका स्थानीय तहमा तीन लाख ६६ हजार घरधुरी छन् । तीमध्ये एक लाख ३० हजार ४६५ घरधुरीमा मात्र घरपरिसरमै खानेपानी सेवा पुगेको छ भने एक लाख ६२ हजार ६१० घरधुरीका लागि पानीको धारानजिकै भए पनि पहुँच भने सीमित छ । कर्णालीमा पानीकै अभावमा दशकौँदेखि स्थानीय तड्पिरहेका छन् । कर्णाली प्रदेश आधारभूत खानेपानीको पहुँचमा पुछारमा देखिएको छ । यहाँका अधिकांश नागरिकका लागि शुद्ध र सुरक्षित खानेपानीको पहुँच छैन । धेरै नागरिक दूषित पानी पिउन बाध्य छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार