Listen LIVE

हक्की प्रतियोगितामा रानी सैना र मानसरोवर विजयी

हुम्ला : जिल्लास्तरीय हक्की प्रतियोगितामा पुरुषमा रानी सैना हक्की क्लब र महिलामा मानसरोवर हक्की क्लब विजयी भएका छन् । फाइनल खेलमा दुवै टिम विजेता भएका हुन् ।

दुई दिनसम्म सञ्चालन भएको जिल्लास्तरीय हक्की प्रतियोगितामा पुरुषतर्फ रानी सैना हक्की क्लब प्रथम स्थान हुन सफल भएको छ भने पञ्चमुखी हक्की क्लब द्वितीय र चङ्खेली हक्की क्लब तृतीय स्थान हुन सफल भएका छन् ।

त्यसैगरी महिलातर्फ मानसरोवर हक्की क्लब प्रथम स्थान हुन सफल भएको भने रलिङ हक्की क्लब द्वितीय र पञ्चमुखी तृतीया स्थान हुन सफल भएका छन् । विजेता खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, विजेता टिमलाई ट्रफी प्रदान गरिएको थियो । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले विजेता टिमलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा महिलातर्फ तुलसी भण्डारी र पुरुषमा उज्जल रावत उत्कृष्ट खेलाडीका रूपमा छनोट भए । उनीहरू दुवै जनालाई ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताका लागि हक्की सङ्घका अध्यक्ष अनिल शर्मा र प्रमुख प्रशिक्षक विजयन्त शाही पनि काठमाडौँबाट आएका थिए ।

प्रतियोगिताका लागि पुरुषका चार वटा र महिलाका चार वटा टिमले सहभागिता जनाएका थिए । आगामी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्कीका खेलहरू हुम्ला जिल्लामा सञ्चालन हुने भएको कारण यो प्रतियोगितालाई मध्यनजर राख्दै जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।

यसै प्रतियोगिताबाट कर्णाली प्रदेशको टिम पनि छनोट हुनेछ । हक्की खेलका लागि कर्णाली प्रदेशबाट सबै खेलाडी हुम्ला जिल्लाका रहेका छन् । प्रतियोगिता हक्की सङ्घ हुम्लाको आयोजनामा र प्रायोजन कर्णाली प्रदेश खेलकुद परिषद्ले गरेको हो ।

प्रतिक्रिया