काठमाण्डौ : संसारभर माटोको गुणस्तर खस्किँदै जाँदा उर्बराशक्तिमा ह्रास आउने क्रम बढ्दो छ। माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रिँदै गएकाले उर्बराशक्ति घटिरहेको छ।
कृषि औजार, रासायनिक मल, बिषादीको प्रयोग बढ्नु तथा गोबर वा कम्पोष्ट मलको प्रयोग न्यून हुँदै जानुले पनि माटो बिग्रिँदै गएको विज्ञहरू बताउँछन्। भू–क्षय, बालीचक्रको आधारमा खेती नगरिनु, माटोको खनजोत धेरै हुनु, कोशेबाली कम लगाउनुले पनि माटोको गुणस्तर खस्कने गरेको पाइएको छ।
नेपालको खेतीयोग्य जमिनमा ६६ प्रतिशत माटो अम्लिय प्रकृतिको छ। राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका अनुसार, खेतियोग्य माटोमा ६६ प्रतिशत अम्लियपना, ५ प्रतिशत क्षारीय र २९ प्रतिशत तटस्थ प्रकृति देखिएको छ।
केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डा. श्रीप्रसाद विष्टका अनुसार, पूर्वतिरको माटोमा अम्लियपना बढी पाइन्छ। चियाका लागि धेरै अम्लियपना चाहिन्छ। यस्तैगरी सल्लो भएका ठाउँको माटोमा धेरै अम्लियपना हुन्छ। धान, मकै, गहुँ, तरकारी बालीका लागि ६ देखि ७ पि.एच.को रेन्ज सबैभन्दा राम्रो मानिन्छ।
यद्यपि ४ देखि साढे ४ पि.एच.मा पनि धान हुन्छ। ‘सबै ठाउँको माटोको प्रकृति उस्तैखालको हुँदैन। केही बालीलाई अम्लियपना वा क्षारियपनाले असर गर्दैन’ डा. विष्टले भने, ’लगभग साढे ५ देखि साढे सात पि.एच. भएको माटोलाई सबैभन्दा राम्रो स्वस्थ भनिन्छ। यसरी, अन्तरराष्ट्रिय मान्यता अनुसार नेपालको माटो ३० प्रतिशत राम्रो देखिन्छ। बाँकी ७० प्रतिशत माटो नराम्रो छ भन्ने चाहिँ होइन, बालीअनुसार फरक पर्छ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार