Listen LIVE

बाँकेमा आठ सय बालबालिका अझै पूर्णखोपबाट वञ्चित

नेपालगञ्ज : बाँके जिल्लामा अझै ८ सय बालबालिका पूर्ण खोपको पहुँचबाट बाहिर रहेको तथ्य सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्षको तुलनामा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या घट्दै गएपनि अझै उल्लेख्य सङ्ख्यामा बालबालिका नियमित खोप सेवाबाट वञ्चित रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार पूर्ण खोप नपाएका बालबालिकामध्ये सबैभन्दा बढी मुस्लिम समुदायका ३५४ जना रहेका छन् । त्यसपछि मधेसी समुदायका १८९, दलित समुदायका १२८, जनजाति समुदायका ५७ तथा बाँकी अन्य समुदायका बालबालिका रहेको जानकारी दिइएको छ ।

स्वास्थ्य कार्यालयले छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउन वैशाख महिनाभर विशेष खोजपड्ताल अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । विशेषगरी १६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका बालबालिकालाई लक्षित गर्दै घर–घर खोजी गरी नियमित खोप सेवा उपलब्ध गराइने जनाइएको छ ।

नेपाल सरकारले प्रत्येक वर्ष वैशाख महिनालाई 'खोप महिना' तथा सचेतना प्रवद्र्धन महिनाका रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले वैशाखको दोस्रो सातालाई 'खोप सप्ताह'का रूपमा विशेष अभियानसहित मनाइने बताइन् ।

उनका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई १३ प्रकारका विभिन्न खोप, गर्भवती महिलालाई आवश्यक खोप तथा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप नियमित रूपमा प्रदान गरिँदै आएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार नियमित खोप सेवाको पहुँच बढ्दै जाँदा जिल्लामा बाल मृत्युदर घट्दो क्रममा रहेको छ । तर अझै केही समुदायमा सचेतनाको कमी, पहुँचको समस्या तथा नियमित अनुगमन अभावका कारण केही बालबालिका खोप सेवाबाट छुट्ने गरेका छन् ।

प्रतिक्रिया