Listen LIVE

कालले पासीको दुल्हा बन्ने रहर पुरा हुन दिएन

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी ७ वसन्तपुरस्थित अर्जुन पासीको घरमा शुक्रबार साँझसम्म निकै खुसीको माहोल थियो । उनको घरमा एक सातादेखि नाचगान लगायत विभिन्न कार्यक्रम हुँदै आएका थिए । 

शनिबार हुने अर्जुन पासीको विवाहको तयारी अन्तिम चरणमा पुगेको थियो । उनको जन्ती भारत जाने कार्यक्रम रहेको हुँदा घरका सबैजना सोही तयारीमा थिए । तर, शुक्रबार राति करिब ७ बजेतिर भएको दुर्घटनाले पासीको घरको खुशियाली शोक र पीडामा रुपान्तरण भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार विवाहको तयारीका लागि सामान खरिद गर्न घरबाट निस्किएका अर्जुन पासीले चलाएको १२५ सिसीको नम्बर प्लेट नभएको कालो पल्सर मोटरसाइकललाई राप्ती सोनारी ७ भेलुनियामा विपरित दिशाबाट आइरहेको नम्बर प्लेट मेटिएको ट्याक्टरले शुक्रबार साँझ ७ बजेतिर ठक्करले ठक्कर दियो । 

सो ठक्करबाट गम्भीर घाइते भएका पासीलाई तत्काल प्रहरीको सहयोगमा नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । राति साढे आठ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले बताए । 

जिल्ला प्रहरी कार्यालय बाँकेले ट्याक्टरका चालक फरार रहेकोले खोजी भइरहेको तर ट्याक्टर मालिक सम्पर्कमा आएको जनाएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया