यदुराज मिश्र/नेपालगञ्ज : साउन शुक्ल पूर्णिमा नजिकिँदै गर्दा बाँकेसहित तराईका जिल्लामा बजार, गाउँ–टोल र बस्तीमा रक्षाबन्धनको रौनक छाउन थालेको छ । दाजुभाई तथा दिदीबहिनीबिचको प्रेम, आत्मीयता र विश्वासको प्रतीक मानिने रक्षाबन्धनको तयारीसँगै यहाँका बस्तीमा पर्वसँग सम्बन्धित गीत तथा धुन गुञ्जिन थालेका छन् ।
रक्षाबन्धनको दिन नजिकिँदै जाँदा शहरदेखि गाउँसम्मका पान पसल, किराना पसल तथा अन्य सार्वजनिक स्थलमा रक्षाबन्धनका गीत बज्न थालेका छन् । सामान्य दिनमा विभिन्न किसिमका गीत तथा सङ्गीत बज्ने पसलमा समेत पर्वको माहोल झल्काउने धुनले स्थान पाउन थालेको छ ।
नेपालगञ्जका अवधि संस्कृतिका जानकार विष्णु कुमालका अनुसार केही दिनयता बजार क्षेत्रमा रक्षाबन्धनका गीत बढी सुनिन थालेका छन् । 'पसलमा आउने ग्राहकले पनि रक्षाबन्धनकै गीत सुन्न रुचाउँछन् । पर्व नजिकिएसँगै यसको धुनले बजारको वातावरण नै फेरिएको छ,' उनले भने ।
स्थानीय एफएम रेडियो तथा मोबाइलमा समेत रक्षाबन्धनसँग सम्बन्धित गीतको माग बढेको छ । रेडियो बागेश्वरी एफएमका प्रबन्ध निर्देशक सिद्धार्थ पाण्डेका अनुसार पर्व नजिकिएपछि श्रोताको रुचिसमेत त्यसैअनुसार परिवर्तन भएको छ । रक्षाबन्धनका गीत बजाउन श्रोताबाट आग्रह आउने गरेको उनले बताए ।
पर्वको तयारीमा दाजुभाई तथा दिदीबहिनी पनि जुटिसकेका छन् । डुडुवा गाउँपालिका वडा नं. ६ की अंकिता मिश्रा रक्षाबन्धनका लागि आवश्यक सामग्रीको जोहोमा लागेकी छन् । दिदीबहिनीले भाईका लागि राखी, मिठाइ तथा अन्य सामग्रीको तयारी गर्ने र भाइले पनि दिदीबहिनीलाई उपहार दिने भएकाले यो पर्वको छुट्टै उत्साह हुने उनको भनाइ छ ।
बजारमा पनि रक्षाबन्धन लक्षित सामग्रीको कारोबार बढ्न थालेको छ । व्यवसायीले विभिन्न डिजाइन र रङका रेडिमेड राखी बिक्रीका लागि ल्याएका छन् । आकर्षक डिजाइनका राखी तथा विभिन्न किसिमका सजावटी सामग्रीले पसल सजिन थालेका छन् ।
तर, परम्परागत धागोबाट बनाइने राखीप्रतिको आकर्षण भने पछिल्ला वर्षमा केही घटेको व्यवसायीहरु बताउँछन् । नेपालगञ्जका व्यवसायी दिपक गुप्ताका अनुसार ग्राहकको रोजाइमा अहिले विभिन्न डिजाइन, रङ र आकारका रेडिमेड राखी बढी पर्ने गरेका छन् । परम्परागत धागोका राखीको बिक्री तुलनात्मक रूपमा कम हुने गरेको उनको अनुभव छ ।
रक्षाबन्धनले दाजुभाई तथा दिदीबहिनीबिचको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ । दिदीबहिनीले भाईको हातमा राखी बाँधेर दीर्घायु, सुख, समृद्धि र सफलताको कामना गर्ने तथा भाईले दिदीबहिनीको संरक्षण र सम्मान गर्ने प्रतिबद्धता जनाउने परम्परा छ ।
राखी बाँधेपछि दाजुभाईले आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कोशेली तथा उपहार दिने चलनसमेत छ । मिठाइ, कपडा, नगद तथा अन्य उपहार आदानप्रदान गरेर पर्व मनाउने गरिन्छ । पछिल्लो समय उपहारको स्वरूपमा विविधता आए पनि दाजुभाई तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता नै पर्वको मूल भावका रूपमा रहेको छ ।
बाँकेलगायत तराईका जिल्लाका मधेशी समाजमा रक्षाबन्धनको आफ्नै मौलिक सामाजिक तथा सांस्कृतिक विशेषता छ । विभिन्न समुदायले आ–आफ्नो परम्परा र संस्कृतिअनुसार पर्व मनाउँदै आए पनि दाजुभाई तथा दिदीबहिनीबिचको स्नेह, विश्वास र पारिवारिक सम्बन्धलाई जोड दिने साझा भाव यस पर्वमा देखिन्छ ।
नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन यस वर्ष भदौ १२ गते शुक्रबार परेको छ । पर्वको मिति नजिकिँदै जाँदा बजारमा राखी तथा मिठाइको कारोबार बढ्दै गएको छ भने गाउँ–टोलमा पर्वसँग सम्बन्धित गीतका धुनले वातावरणलाई थप उल्लासमय बनाएको छ ।
आधुनिकतासँगै राखीको स्वरूप र उपहारको शैलीमा परिवर्तन आएपनि रक्षाबन्धनले बोकेको दाजुभाई तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको भाव भने पुस्तौँदेखि निरन्तर रहँदै आएको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका जेष्ठ नागरिक शंकर दयाल मिश्रले बताए । गाउँघरमा गुञ्जिन थालेको रक्षाबन्धनको धुनले यही पुरानो आत्मीयतालाई नयाँ पुस्तासम्म जोडिरहेको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार