लमजुङ : लमजुङको मध्यनेपाल नगरपालिका–५ समिभञ्याङमा रैथाने बाली प्रवद्र्धनका लागि २५ जातका कोदो खेती गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्को सहयोगमा परीक्षणका लागि २५ जातका कोदो खेती गरिएको हो ।
खाद्य तथा कृषि सङ्गठनको आर्थिक सहयोग, नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय अनुवंशिक स्रोत केन्द्र (जिन बैंक) बाट सञ्चालित रैथाने कृषि परियोजना अन्तर्गत रैथाने बाली संरक्षण तथा प्रवद्र्धनका लागि मध्यनेपालको पराजुलीबेंसी मगर गाउँमा २२ प्रकारका र आमडाँडामा २५ जातका कोदो रोपिएको वडाअध्यक्ष ओमवीर गुरुङले जानकारी दिए । कोदोजन्य बालीको जातीय परीक्षणका लागि स्थानीय र रैथाने गरी फरक–फरक जातको कोदो रोपिएको वडाअध्यक्ष गुरुङको भनाइ छ ।
हाल परीक्षण खेती गरिएकोमा त्यसबाट उत्कृष्ट कोदो छनौट गरी व्यावसायिक कोदो खेती प्रवद्र्धन गरिने सो परियोजनाका प्राविधिक अधिकृत प्रदीप थापाले बताए । परियोजना अन्तर्गत स्थानीयको सक्रियतासँगै सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पसमा अध्ययनरत दुईजना विद्यार्थीले शोधपत्रसमेत गर्दै आएका छन् ।
परम्परागत कोदो र कागुनो खेती प्रवद्र्धनका लागि सञ्चालन भएको सो परियोजनामा स्थानीय ३५ जना कृषक सहभागी भएका छन् । एकसय रोपनी खेतमा रैथाने कोदो र कागुनो खेती गरिएको छ । चार वर्षसम्म सञ्चालन हुने परियोजनाका लागि विज्ञहरुद्वारा अनुसन्धान र कृषकहरुलाई आवश्यक तालिम तथा सहजीकरण हुँदै आएको छ । परियोजना अन्तर्गत कोदोसँगै रैथाने जातका फलफूल तथा जङ्गली खाद्यवस्तुको प्रवर्धनको कार्यक्रम रहेको परियोजनामा कार्यरत कृषि प्राविधिक शान्ति गुरुङले जानकारी दिए ।
जिल्लामा रैथानेबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत बजेट कार्यन्वन हुन नसकी फिर्ता हुने गरेको छ । रैथाने बाली प्रवद्र्धन कार्यक्रम आउने गरे पनि बजेट आउनुअघि नै कोदो खेती गरिसक्ने भएकोले अधिक बजेट फ्रिज हुने गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । त्यसो त कार्यक्रमको प्रकृति अनुसार ५० प्रतिशत लागत साझेदारी जुटाउन नसक्दा पनि किसानहरुले यस कार्यक्रममा चासो नदिने गरेका ज्ञान केन्द्र प्रमुख सुदीप खतिवडाले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार